आदिवासी जनजाति समुदायको हितमा साथ दिन्छु : संविधानसभा सदस्य अमात्य 

आदिवासी जनजाति समुदायको हितमा साथ दिन्छु : संविधानसभा सदस्य अमात्य 

वीरगन्ज, २६ साउन । नेपाली कांग्रेस पर्साका पूर्व सभापति एवं संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले आदिवासी जनजाति समुदायको अधिकार रक्षा र हितका लागि सधैं साथमा रहने बताउनु भएको छ ।


नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साले सोमबार मनवा बजारमा आयोजना गरेको विश्व आदिवासी दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै अमात्यले राज्यबाट उत्पीडत समुदायको साथमा सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आदिवासी जनजाति समुदायले अधिकारको लागि सधैं लडिरहनुपर्ने अवस्थाको अन्त्यको लागि आदिवासी जनजाति समुदाय एकजुट हुनुपर्नेमा जोड उहाँले दिनुभयो ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश राईले भाषा संस्कृतिको संरक्षण र आदिवासी जनजाति समुदायको अधिकार रक्षाका लागि आदिवासी समुदायले पनि गलत संस्कृतिको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आदिवासी जनजाति समुदायको संस्कार र संस्कृतिमा मदिराको प्रयोग अनिवार्य भएपनि यसको सेवन गर्नेहरु बढी हुँदा सामाजिक विकासमा अवरोध हुने भएकोले यसलाई त्याग्न आग्रह गर्नुभयो ।


उहाँले उत्पादन र विक्री वितरणलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका अध्यक्ष सोम लामाको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ प्रदेश २ का उपाध्यक्ष कमल बहादुर पिठाकोटे, आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का इन्चार्ज नीरज पिठाकोटे मगर, आदिवासी जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष किरण डंगोल, थारु कल्याणकारी सभाका केन्द्रीय सदस्य वृजमोहन चौधरी, थारु शिक्षक संघका भागवत चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा फोनिजका प्रदेश उपाध्यक्ष दिपेश श्रेष्ठ, अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङ, सञ्चारकर्मी कुनाल कार्की लगायत आदिवासी जनजाति समुदायको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण योगेन्द्र चौधरीले गर्नुभएको थियो ।