माहात्मा गान्धी मार्ग नामाकरणको विरोधमा प्रदर्शन 

माहात्मा गान्धी मार्ग नामाकरणको विरोधमा प्रदर्शन 

वीरगन्ज, १८ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित वीरगन्ज चिनी कारखाना आवासक्षेत्रदेखि पूर्व बाईपाससम्म जोड्ने लिंक रोडको नाम माहात्मा गान्धी नामाकरण विरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पिपरा स्थित ज्येष्ठ नागरिक पार्कलाई महात्मागान्धी पार्क र पिप्रा लिङ्क रोडलाई महात्मा गान्धी पथ राख्नेगरी कार्ययोजना सहित बिहीबार उदघाटनको तयारी गरेको छ । त्यसको विरोधमा बुधबार स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

उदघाटनका लागि तयार गरिएको गेट र शीलालेख अगाडि स्थानीयले बुधबार व्यानर सहित विरोध प्रदर्शन गरेका छन् । पिपराको स्थानीय मोलिकता समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नामबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।

झण्डै ४ सय मिटर लामो सडकको उद्घाटन गर्न बिहिवार मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव वीरगञ्ज आउने कार्यक्रम तय भएको छ । बिहिबार उद्घाटनको तयारी भइरहेको छ ।  

युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, नेकपा माओवादी केन्द्र वडा नं. १४ का अध्यक्ष महेश पटेल, नेकपा एसका वडा नं. १४ का अध्यक्ष मदन प्रसाद कुर्मीले लगायतले पिपराका ऐतिहासिक र यसको धार्मिक पक्षलाई ख्याल नगरि गैर नेपालीको नाउँमा नामाकरण गर्न खोज्नुले स्थानीय संस्कृतिमाथिको प्रहार भएको बताएका छन् । उनीहरुले हिजो वडा नं १४ का वडा अध्यक्ष मेहबुब एलहीलाई ज्ञापन पत्र बुझाएका थिए ।