निजीक्षेत्रका प्रतिनिधिको पनि मर्यादाक्रम कायम हुनुपर्ने माग
वीरगन्ज, १८ माघ । निजीक्षेत्रलाई पनि मर्यादाक्रममा समावेश गर्न व्यावसायीहरुले सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको विशेष सभाको मंगलबार उदघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले राज्यको सहयात्रीको रुपमा रहेको निजीक्षेत्रका व्यक्तिहरुलाई एउटा वडा सदस्य र खरिदारको हैसियतमा पनि नराखेको भन्दै निजीक्षेत्रका पदाधिकारीहरुको पनि मर्यादाक्रम हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफू छिटै निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने बताउदै आफ्नो कार्यकालको पहिलो प्राथामिकता निजीक्षेत्रलाई सम्मान र मर्यादामा राख्ने पहल हुने प्रतिबद्धता पनि जनाउनुभयो ।
ढकालले विस्तारै देशको अर्थतन्त्रमा केही आशाको किरणहरु देखा पर्दै गएको दावी गर्दै रेमिट्यान्स र पर्यटन क्षेत्रमा केही सुधारको संकेत देखिएकोले श्रीलंका र पाकिस्तानमा जस्तो अवस्था आउने अवस्था नेपालको नरहेको तर, सतर्कता भने अपनाउनुपर्ने बताउनुभयो ।
सरकारले पूँजीगत खर्च बढाउनुपर्ने त्यसको लागि जलविद्युत आयोजनाहरुसँग पीपीए सम्झौता गरी पहल गर्नुपर्ने बताउनुभयो । पीपीए गरेर जलविद्युत आयोजनाको निर्माण अगाडि नबढाए अहिले अघोषित रुपमा भएका लोडसेडिङ्ग तालिका नै बन्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष अन्जन शाक्यले बैंकहरुले चर्को ब्याज लिईरहेको अवस्थामा पनि राज्यले त्यसलाई गम्भीर रुपमा नलिएको भन्दै प्रेम आचार्य लगायतका धेरै व्यावसायीहरुले ज्यान गुमाउनु परेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्री सदस्य तथा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध गुप्ताले उद्योगी व्यावसायीहरुले सामाजिक विकास र राज्यसँग धेरै विकासका कामहरु गरेको बताउदै राज्यले भने निजीक्षेत्रलाई कुनै सम्मानजनक हैसियत नदिएकोप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले आफूले धेरै पहिलेदेखि उद्योगी व्यवासायीहरुको छाता संगठनका पदाधिकारीहरुको पनि मर्यादाक्रम हुनुपर्ने माग राख्दै आएको जिकिर गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले बैंकहरुको आतंकले बाटोमा हिड्न समेत छोड्नुपर्ने अवस्था रहेको बताउदै उद्योगी व्यावसायीहरुलाई विभिन्न आरोप र आक्षेपहरु लगाउने गर्दा सामाजिक प्रतिष्ठामा समेत आँच पुगेको बताउनुभयो ।
उहाँले निजीक्षेत्रले उद्योग व्यापार गरेर नाफा कमाउने मात्रै नभई सामाजिक विकासतर्फ पनि गतिविधिहरु गर्दै आएको बताए । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशले अहिले ४५ वटा विद्यालय र क्याम्पसहरुमा डिजिटलाई मधेसको अवधारणा सहित काम गरिरहेको बताउनुभयो ।
महिलाहरुलाई उद्यमी बन्न प्रोत्साह गर्नका लागि विभिन्न कार्यक्रमहरु गरिएको पर्यटन प्रवद्र्धनका लागि मधेस प्रदेश र गण्डकी प्रदेशसरकारबीच आतिथ्यता आदान प्रदान लगायत सामाजिक सम्बन्ध जोड्नका लागि पहिलो पटक तिहारमा सामूहिक भाईटिकाको आयोजना पनि गरिएको जानकारी दिनुभयो ।
लाठको अध्यक्षतामा भएको कार्यक्रममा, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, माधव राजपाल, महासचिव मनोज दास लगायत पर्सादेखि सप्तरीसम्मका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष अनुप अग्रवालले गर्नुभएको थियो ।