पर्सामा १४ जना डिस्चार्ज, ५४ जनामा संक्रमण 

पर्सामा १४ जना डिस्चार्ज, ५४ जनामा संक्रमण 

वीरगन्ज, ९ जेठ । कोरोना भाईरसको दोश्रो लहरमा पनि इपीसेण्टर बनेको वीरगन्जमा दुईदिन यता भने केही सामान्य सुधार आएको छ । कोरोनाको संक्रमण दर घट्दै गएको छ । संक्रमणमुक्त पनि भएका छन् । पर्सामा शनिबार १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

भवानी अस्पतालबाट ४ जना, नेशनल मेडिकल कलेजको बाबा आईशोलेसनबाट ३ जना, नारायणी अस्पतालबाट २ जना, स्पर्श मल्टीस्पेशीलिटी अस्पतालबाट २ जना, बयोधा अस्पताल, तराई अस्पताल, गण्डक अस्पताल र वीरगन्ज महानगरपालिकाको आईशोलेसनबाट १–१ जना गरी जेठ ८ गते १४ जनाले कोरोना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैबीच संक्रमितको मृत्यु पनि रोकिएको छ । कोरोना संक्रमणले २४ घण्टामा १३ जनासम्मको मृत्यु भएको वीरगन्जमा दुईदिनदेखि भने मृत्यु संख्या पनि कम भएको छ । संक्रमितको संख्या पनि घटेको छ । शनिबार राति गरिएको २८८ पीसीआर परीक्षणमा ५४ जनामा मात्रै संक्रमण देखिएको छ । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका ३४ जना सहित ५४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । परीक्षणमा बाराका १४ जा, रौतहटका ५ जना र सर्लाहीका ३ जनामा संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा ६ बर्षदेखि ७८ बर्ष उमेर समूहका ४३ जना पुरुष र १५ जना महिला रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । अस्ती शुक्रबार राति २८८ जनाको परिक्षण गर्दा पर्साका ७५ जना सहित १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिन बिहीकार राति २८८ को स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा पनि ५४ जनामा अर्थात १९ प्रतिशतमा मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो रिपोर्ट अनुसार जेठ १ गते संक्रमण दर ४४ प्रतिशत, जेठ २ गते ४३ प्रतिशत, जेठ ३ गते ३३ प्रतिशत , जेठ ४ गते ३६ प्रतिशत , जेठ ५ गते २८ प्रतिशत र अस्ती जेठ ६ गते १९ प्रतिशत, जेठ ७ गते अस्तीराति ३४.७२ प्रतिशत र जेठ ८ गते फेरी संक्रमितको संख्या घटेर  १९ प्रतिशतमा  झरेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।