भारतबाट भित्र्याउदै गरेको ४७ वाटा राँगाभैंसी सशस्त्र प्रहरीको नियन्त्रणमा
वीरगन्ज, ९ जेठ । भारतबाट अवैध रुपमा भित्र्याउदै गरेको ठूलो संख्याको राँगाभैसी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण मातहतका सशस्त्र प्रहरी वोर्डर आउट पोष्टबाट खटिएका टोलीले ४७ वटा राँगाभैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
भारतबाट नेपालको विभिन्न नाका हुदै भित्र्याएको राङ्गा भैंसी सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर–५ सखुवनियाबाट ३२ वटा, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक केदार राईको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ को जितपुर बाट ८ वटा राँगाभैसी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक किशमान तमाङ नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ३ कै परसवाबाट ७ वटा राँगाभैँसी नियन्त्रणमा लिएको छ । विभिन्न स्थानबाट गरि जम्मा ४७ वटा राँगा भैंसी आईतबार बिहान तीन बजेको समयमा नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी उपरीक्षाक खड्काले बताउनुभयो ।
भारतको इनरवा हुदै नेपालको पाँडेपुर नाकाबाट नेपाल भित्रिएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा बिगत लामो समयदेखि भारतीय रागाँ भैंसी अवैध ओसार पसार हुँदै आएको सूचनापछि सशस्त्र प्रहरीले सुरक्षा गस्तीलाई कडाई गर्नेक्रममा अवैध रुपमा भित्र्याइएका राँगाभैंसी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका चौपायालाई आवश्यक कारवाहीका लागि बिरगंज भन्सारमा पठाउने तैयारी भईरहेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभयो ।