डाण्डिया डिजे नाईटमा पक्राउ परेका सबै रिहा
वीरगन्ज, २३ असोज । शुक्रबार राति टाउन हलमा डाण्डिया डिजेबाट पक्राउ परेका ७ जना युवाहरुलाई रिहा गरेको छ । इम्प्रुभिङ वीरगन्जका युवाहरुले आयोजना गरेको डाण्डिया डिजे नाईटमा युवाहरुले विवाद गरेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।
कार्यक्रम राति अबेरसम्म संचालन नगर्न प्रहरीले चेतावनी दिँदा समेत बन्द नगरेपछि प्रहरी कार्यक्रम स्थलमा पुग्दा केही युवाहरुले होहल्ला गरेका थिए । त्यसपछि प्रहरीले लाठ्ठी चार्ज गर्नुपरेको थियो ।
डाण्डिया डिजे नाईटमा प्रहरीले लाठ्ठी चार्ज गरेर ७ जनलाई नियन्त्रणमा लिएको थियो । तर, उनीहरुको उमेर पनि नपुगेको र अबदेखि कुनैकिसिमको शान्ति खलबलाउने काम नगर्ने शर्तमा अभिभावको जिम्मामा छोडिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
वीरगन्ज नगर सभा गृहमा डाण्डिया डिजे नाईटमा सयौं युवायुवतीहरुको उपस्थिति रहेको थियो । कोरोना संक्रमणको महामारीले लामो समय बन्द हुँदा सार्वजनिक स्थलहरुमा कार्यक्रममा भएको थिएन । कोरोना संक्रमण दर घट्दै गएपछि अहिले सार्वजनिक स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु हुन थालेको छ ।
विगत तीन, चारबर्षदेखि चर्चामा आएको डाण्डिया डान्स युवायुवतीहरुको मनोरञ्जनका लागि निकै आकर्षण मानिएको छ । केही दिन अघि पनि सोही स्थानमा डाण्डिया डिजे नाईटको आयोजना भएको थियो ।