भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ 

भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ 

वीरगन्ज, २४ असोज । उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो । आशिष मिश्रा लखिमपुर खिरीको तिकुनिया किसान हत्याकाण्डका मुख्य आरोपी हुन् ।

सरकारले ल्याएको एक कानुनविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानहरुको र्‍यालीमा सहभागीहरुलाई पछाडिबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप उनीमाथि लागेको छ । ३ अक्टुबरको यो घटनामा चार जना किसानहरुको मृत्यु भएको थियो ।

त्यसपछि भड्किएको हिंसामा परी दुई जना भाजपाका कार्यकर्ता, एकजना आशिष मिश्राको गाडी चालक र एक जना स्थानीय पत्रकार पनि मारिएका छन् ।  डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको र उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको जानकारी दिएका छन् ।