विश्वभर कोरोना सङ्क्रमणको दर बढ्दै
वीरगन्ज, १२ चैत । कोरोना भाईरसको दोश्रो लहरसँगै सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २ सय ११ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २७ लाख ५४ हजारभन्दा धेरै पुगेको छ । विश्वभर अहिलेसम्म १२ करोड ५३ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् ।
सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।
अमेरिका, ब्राजिल, भारत, टर्की, इटली, जर्मनी, पोल्याण्डलगायत देशहरुमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । यी देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु भए पनि यी देशहरुमा भने कोरोना सङ्क्रमणको दर उच्च भएको हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १ करोड २२ लाख १९ हजारभन्दा धेरैे भएको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३२ जनाको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६ सय ७५ भन्दा धेरै भएको छ ।