कोभिड महामारीमा सामुदायिक रेडियोका भूमिका प्रशंसनीय छ : नगर प्रमुख सरावगी 

कोभिड महामारीमा सामुदायिक रेडियोका भूमिका प्रशंसनीय छ : नगर प्रमुख सरावगी 

वीरगन्ज, २० असोज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना महामारी विपदमा सामुदायिक रेडियोले खेलेको भूमिका अतुलनीय रहेको बताउनु भएको छ ।

सामुदायिक रेडियोहरुको दक्षिण एशिया क्षेत्रको संगठन (अमार्क) को सहयोगमा नारायणी एफ.एम.१०३.८ मेगाहर्जले बुधबार भिस्वामा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सरावगीले महामारीको संकटमा सञ्चार गृह संचालनमा निकै चुनौती रहेको भएपनि विपदमा सञ्चार माध्यमहरुले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो ।

व्यावसायिक रेडियो र सामुदायिक रेडियोमा खासै भिन्नता नरहेपनि सामुदायिक रेडियोले सामाजिक दायित्वलाई बुझेर काम गर्नु निकै स्वागतयोग्य रहेको नगर प्रमुख सरावगीको भनाई छ । कोभिड महामारीमा संघ सरकार र प्रदेश सरकारले गर्न नसकेको काम स्थानीय सरकारको हैसियतले वीरगन्ज महानगरपालिकाले गरेको बताउदै उहाँले सञ्चारक्षेत्रको भूमिकाले नै आफूले विपदको व्यावस्थापनमा सहज भएको बताउनुभयो ।

कोरोना संक्रमणको पहिलो लहर र दोश्रो लहरमा पनि हटस्पट बनेको वीरगन्जमा समुदायलाई जोड्ने काममा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सञ्चारकर्मीहरु आफै संक्रमित भएर पनि नागरिकलाई सूचना दिने सवालमा जिम्मेवारीपूर्ण ढंगबाट प्रस्तुत भएको उहाँले बताउनुभयो ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का निवर्तमान महासचिव गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बञ्जारा, अकोराबकी प्रदेश सदस्य उपासना देव, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा महोत्तरीदेखि पर्सासम्मका सामुदायिक रेडियोका अध्यक्ष तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।