पर्साको जंगलमा एकहप्तादेखि लागेको डढेलो नियन्त्रणमा चासो नलिएको स्थानीयको आरोप
कृष्णमोहन साह
वीरगन्ज, १४ चैत्र । पर्साको जंगलमा बिगत एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो लागेको एकहप्ता भइसक्दा पनि त्यसलाइ निभाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयवासीले गुनासो गरेका छ्न ।
सेक्टर बन कार्यालय वसन्तपुर, ईलाका बन कार्यालय हरैया, भतौडा र रङ्गपुर, सेक्टर बन कार्यालय बढ्नियार तथा पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्ट, चारभैया पोस्ट गडुवालाइन, निर्मल बस्ती पोस्ट, पन्चमुखी सामुदायिक बन र सुनाखरी उपभोक्ता समिती अन्तर्गत रहेको बन क्षेत्रमा बिगत १ हप्ता देखि डढेलो लागेको हो ।
डढेलोका कारण करोडौं मुल्य बराबरका काठ तथा बोट्बिरुवाहरु जलेर नस्ट भएको स्थानीय वासिन्दाले बताएका छन् । आगलागीबाट निस्केको धुवाँले जङ्गल नजिकैका मानव वस्तीहरुमा समेत असर पारेको छ । डढेलोको धुवाँले जंगलको नजिकै रहेका वस्तीका स्थानीयहरुमा आँखा चिलाउने, आँखा रातो हुने, बिहानको समयमा धुवाँले अध्यारो हुने जस्ता समस्या देखिएको छ ।
डिभिजन वन कार्यालय पर्साका प्रबक्ता सहायक बन अधिकृत रेयाज अहमद अन्सारीले भने डढेलो नियन्त्रणका लागि जनशिक्त परिचलन गरि सकिएको बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बन रक्षकको टोली परिचालन गरिएको र बाकी स्थानको पनि आगो नियन्त्रणको लागि जिल्लाले निर्देशन दिइसकेको उहाले बताउनु भयो ।
जंगलमा लागेको आगो नियन्त्रण बन कर्मचारी र प्रहरीले मात्रै गर्न नसक्ने भएकोले स्थानीयवासीको पनि सहयोग आवश्यक रहेको अन्सारीले बताउनु भयो । यसैबीच सुनाखरि उपभोक्ता समिती र पन्चनुखी सामुदायिक बनमा लागेको डढेलो निभाउन स्थानीयवासी नै खटेका छन् ।
उपभोक्ताहरु, विभिन्न समितिका सदस्यहरु र नेपाली सेनाको सहयोगमा आगो निभाउन प्रयास भैरहेको भन्दै सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर पाख्रीनले कतिपय ठाउँमा डढेलो नियन्त्रणमा पनि आइसकेको जानकारी दिनुभयो ।