अबिरल बर्षाले पर्साका अधिकांश क्षेत्र डुबानमा, स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुको आग्रह  

अबिरल बर्षाले पर्साका अधिकांश क्षेत्र डुबानमा, स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरुको आग्रह  

वीरगन्ज, १९ असार । केही दिनदेखि परेको अविरल बर्षाले पर्साका अधिकांश क्षेत्रहरु डुबानमा परेर जनजीवन प्रभावित भएको छ । यसले स्वास्थ्यमा समस्या देखिन सक्नेतर्फ चिकित्सकहरुले सचेत गराएका छन् । वीरगन्जमा एशियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भएको ढल तथा नाला निर्माणले पनि डुबानको समस्या नहटेपछि शहरी क्षेत्रमा जमेको पानीले विभिन्न किसिमका रोगहरु फैलिन सक्नेतर्फ सतर्क रहन आग्रह गरेका हुन् ।

कोरोना महामारीको जोखिम कायमै रहेको अवस्थामा बाढी र डुबानमा परेका क्षेत्रहरुमा अन्य स्वास्थ्य समस्याहरु पनि आउने सक्ने जोखिम रहेकोले यसमा सावधानी अपनाउन सबैलाई चिकित्सकहरुले आग्रह गरेका छन् । बाढीको पानी ढल नालामा पसेर जाम हुने र घररघरमा पानी पसेपछि त्यसले विभिन्न संक्राकम रोगहरु लाग्न सक्ने जोखिम रहेको नारायणी अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर निरज सिंहले बताउनुभयो ।


संक्रामक रोगहरुले मान्छेको मृत्यु समेत हुनसक्ने जोखिम हुने र मृत्यु भएमा चिकित्सकको लापरवाहीले मृत्यु भयो भन्ने आरोप लगाउने तर, संरचना निर्माणमा भएका त्रुटीले गर्दा हुने समस्यातर्फ समाजको पनि ध्यान नजानु दुखद भएको डाक्टर सिंहले बताउनुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा वीरगन्जको मुख्य सहर आदर्शनगरको जलमग्न तस्वीर सार्वजनिक गर्दै बाढी डुवानले प्रभावित क्षेत्रहरुमो संक्रामक रोगहरु बढी फैलिन सक्ने तर्फ सचेत गराउँदै यस्तो समस्या सृजना गर्न मुख्य भूमिका रहने संरचना निर्माणकर्ता र सरोकारवालाहरुको ध्यान नगएकोप्रति दुख व्यक्त गर्नुभएको हो ।