जनकपुर उद्योग वाणिज्य संघ र वीरगन्ज उद्योग वाणिज्य संघबीच छलफल
वीरगञ्ज, १८ असार । वीरगन्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच भेटघाट र छलफल भएको छ । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेको ५ सदस्यीय अध्ययन अवलोकन भ्रमण टोली र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी र कार्यसमितिका सदस्यहरुबीच शुक्रबार वीउवासङ्घकै सभाकक्षमा भेटघाट एवम् अन्तरक्रिया भएको हो ।
वीउवासङ्घका कार्यवाहक अध्यक्ष हरिप्रसाद गौतमले अध्ययन अवलोकन भ्रमण टोलीलाई स्वागत गर्दै वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, गण्डक–पथलैया औद्योगिक कोरिडोर, पर्सा–बारा क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा पु¥याइ रहेको योगदानका बारेमा बताउनुभयो । उहाँले कूल राष्ट्रिय राजस्वको आधा हिस्सा ओगटेको वीरगन्ज क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो । उहाँले जनकपुर र वीरगञ्जले एउटै प्रकृतिका समस्याहरु भोगिरहेकोले हाम्रा साझा समस्याको समाधानका लागि साझा प्रयत्नको आवश्यकता औल्याउनु भयो ।
यसैगरी जनकपुर उवासङ्घका अध्यक्ष जितेन्द्र महासेठले नेपालकै सबैभन्दा पुरानो संघको रुपमा परिचित वीउवासङ्घले आफ्नो स्थापनाकालदेखि नै पर्सा–बारा क्षेत्रको उद्योग, व्यापारको विकासमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले विभिन्न उद्योग व्यावसायी संगठनको स्थलगत भ्रमणबाट चेम्बर बीचको सम्बन्ध विस्तार र एक आपसमा भएका विषयहरुमा सहकार्य गर्नका लागि तथा समान मुद्दाहरुको पहिचान गर्न समेत मद्दत पुग्ने बताउनुभयो ।
उहाँले जनकपुर क्षेत्रमा १३ वटा मात्र ठूला उद्योग रहेका र साना, घरेलु उद्योग, व्यवसायको बाहुल्यता रहेकोले साना, घरेलु उद्योग, व्यवसायको प्रबद्र्धन हाम्रो संस्थागत भूमिका रहने र राज्यको पनि जिम्मेवारी रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि उद्योग वाणिज्य सङ्घहरु बीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । साथै उवासङ्घहरु बीच सम्बन्ध विस्तारको लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । वीउवासङ्घका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।