डेढदशक कलमको व्यापारबाटै उद्योग स्थापना
वीरगन्ज, ६ पुस । वीरगन्जका व्यावसायी मनोज मरोदियाले डेढदशक स्टेशनरीको व्यावसाय गर्नुभयो । स्टेशनरी व्यावसाय गरेर भारतीय कम्पनीका कलम र कापी बेच्दै आएका मरोदिया अहिले आफै कलमको उद्योग स्थापना गर्न सफल हुनुभएको छ । उहाँले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा उच्चस्तरीय प्रविधिको कलम उत्पादन गर्ने नयाँ उद्योग स्थापनासँगै उत्पादन पनि शुरु गरेको छ ।
बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ सुखचैनामा स्थापना गरिएको वीणाशक्ति पेपर एण्ड स्टेशनीर प्रोडक्ट उद्योग स्थापनासँगै उत्पादन पनि शुरु भएको हो । १६ वर्षदेखि स्टेशनरीको व्यापार गर्दै आएका मरोडियाले वीरगंज पथलैया कोरिडोरमा २५ करोड रुपैयाँको लागतमा कलम उद्योग स्थापना गर्नुभएको हो ।
अढाई कट्ठा जग्गामा आफ्नो उद्योग सञ्चालन भएको र पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यसले कलम आयातमा केही मात्रामा प्रतिस्थापन गर्न सक्ने विश्वास लिएको मरोडियाले बताउनुभयो । तीन तले भवनमा जापानिज, जर्मन र भारतीय प्रविधिको संयोजनमा कलम उत्पादन गर्नेछ ।
नाम चलेका भारतीय ब्रान्ड सेलो, लिंकलेयर, हाउजर, मोन्टेक्स जस्ता कम्पनीको प्रतिस्पर्धीको रुपमा नेपाली बजारमा आफूलाई अगाडि लैजाने योजना सहित उद्योगले उत्पादन पनि शुरु गरेको छ । उद्योगमा भारतीय कम्पनीका प्राविधिक सहितको टिमले नै मेशिनहरु चलाईरहेको मरोडियाको भनाई छ । ‘फ्रेन्ज’ ब्रान्डमा उत्पादन हुने उद्योगले बलपेन, जेलपेन १६ प्रकारका कलम उत्पादन गर्ने छ ।
न्यूनतम ५ रुपैंया देखि ५० रुपैंया सम्मका कलम उत्पादन गर्ने उद्योगमा निकट भविष्यमा थप १५ करोड लगानी गर्ने लक्ष्य रहेको उद्योगी मरोडियाले बताए । उद्योगले ६ प्रकारको इरेजर, २ प्रकारको सार्पनर, २ प्रकारको स्केल र मार्कर लगायतको स्टेशनरीको पनि उत्पादन गर्ने मरोदियाले बताउनुभयो ।
उच्चस्तरीय जापानिज प्रविधिको स्वचालित मेशिन जडान गरिएको कलम उद्योगले २४ घण्टामा चार लाखसम्म कलम उत्पादन गर्ने क्षमता रहेको र बार्षिक ९ करोड थान कलम उत्पादन गर्ने लक्ष्य रहेको उद्योगका सञ्चालक मनोजकुमार मरोडियाले जानकारी दिए ।
अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त उद्योगले कलम उत्पादनका लागि आवश्यक कच्चा पदार्थ प्लाष्टिकको दाना चाहिँ अहिले भारतको रिलायन्स कम्पनीबाट आयात गर्ने गरेको छ ।
कलममा लाग्ने मसी र नजल भारत, जर्मनी, कोरिया, जापान लगायतका मुलुकबाट आयात गर्ने उद्योगी मरोडियाले बताउनुभयो ।
राज्यले कच्चा पदार्थमा लिने भन्सार शुल्क र तयारी वस्तु आयात गर्दा लिने भन्सार शुल्कमा परिवर्तन नगर्दा स्वदेशी उत्पादनमूलक उद्योगले बजारमा प्रतिस्पर्धा गर्न भने चुनौती बनेको मरोडियाको भनाई छ ।
सीमाक्षेत्रबाट आउने अवैध आयातलाई नियन्त्रण गर्न सके नेपाल कलममा आत्म निर्भर हुन सक्ने बताउनुभयो ।