प्रदेश २ मा शान्ति सुरक्षा कायम राख्न वीरगन्ज उद्योग वाणिज्य संघको आग्रह 

प्रदेश २ मा शान्ति सुरक्षा  कायम राख्न वीरगन्ज उद्योग वाणिज्य संघको आग्रह 

वीरगञ्ज, १० साउन । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले प्रदेश नम्बर २ मा शान्ति सुरक्षालाई मजबुत बनाउन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकारसँग माग गरेको छ । संघमा निर्वाचित पदाधिकारी तथा कार्यसमितिले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको अवसरमा प्रदेश नं। २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई स्वागत गर्दै अहिले प्रदेश २ मा कायम रहेको शान्ति सुरक्षालाई स्थायीत्व दिन माग गरेका हुन् । 

सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्य राख्ने क्रममा प्रदेश २ मा उद्योगी व्यावसायीहरुले शान्ति सुरक्षाको अनुभूति गरेको बताउदै यसलाई स्थायीत्व दिन डिआईजी रञ्जितकारलाई आग्रह गर्नुभयो । वीरगञ्ज नगरभरी विस्तार गरिएको सीसीटीभी परियोजनाको लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने, औद्योगिक कोरिडोरको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्ने, औद्योगिक कोरिडोरको लागि केमिकलयुक्त वारुणयन्त्रको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको अवगत गराउनुभयो ।  

प्रदेश नं। २ का प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले अपराधीहरु अहिले सूचना प्रविधिमा निकै अभ्यस्त भएकाले अब प्रहरीले पनि उच्च प्रविधि सहितको स्मार्ट पुलिसिङ हुन जरुरी रहेको बताउनुभयो । अपराध न्यूनीकरणको लागि घटनास्थलमा प्रहरी उपस्थित भई अपराध अनुसन्धान गर्ने पूरानो शैलीलाई परिवर्तन गरी नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउदै गएको बताउनुभयो ।

वीउवासङ्घले आफ्नो नेतृत्वमा अगाडि ल्याएको सीसीटीभी परियोजनाले अपराध अनुसन्धानमा सहयोग पु¥याएकोले परियोजनाको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।  नेपाल उद्योग वाणिज्य सङ्घ–प्रदेश नं। २ का अध्यक्ष तथा वीउवासङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ तथा पूर्व अध्यक्ष अशोककुमार वैधले कोरोना संक्रमणका कारणले अहिले बन्द भएको वीरगञ्ज–रक्सौल नाकाबाट हुने सर्वसाधारणको आवागमनमा सहज बनाउन आग्रह गर्नुभयो ।  

सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास लगायत सङ्घका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।