पर्सामा ६४ वटा मानव अधिकार उल्लंघनका घटना भएको तथ्यांक सार्वजनिक, बलात्कारका घटना सबैभन्दा बढी
वरिगन्ज, ५ पुस । पर्सामा बलात्कार र बलात्कारका प्रयासको घटना अझै घट्न सकेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को बर्ष पुस्तक बार्षिक समिक्षाको लागि आयोजित कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सार्वजनिक गर्नुभएको तथ्यांक अनुसार सबैभन्दा बढी बलात्कारका घटना भएको पाईएको हो ।
पर्सा जिल्लामा ६४ वटा विभिन्न मानवअधिकार उल्लंघनका घटनाहरु मध्य १८ बर्ष भन्दा कम उमेरका २४ वटा र १८ बर्ष भन्दा माथिका ९ वटा बलात्कारका घटना भएका छन् । त्यस्तै १८ बर्ष भन्दा कमका बलात्कार प्रयासका २ वटा, १८ बर्ष भन्दा माथिका ३ वटा घटना भएका छन् ।
बहुविवाहका १२ वटा, बेचविखनका ५ वटा, कुटपिटका एउटा, यौन दुर्व्यवहारका ३ वटा र कर्तव्य ज्यान ३ वटा गरी ११ महिनामा ६४ वटा मानवअधिकार उल्लंघनका घटना भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जानकारी दिनुभयो ।
मानव अधिकार निगरानी समूहका संयोजक तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मानव अधिकार उल्लंघटनाका घटनाहरु मध्य सबैभन्दा बढी बलात्कारका घटना भएको तथ्यांकले समाजमा अझैपनि जनचेतना र कारवाहीको दायरा बढाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
उहाँले बलात्कार र बलात्कार प्रयासका घटना लगायतका मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि जनचेतनासँगै कारवाहीलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिएको बताउनुभयो । मानव अधिकारसँगै जोडिने उपभोत्ता अधिकारको सवालमा पनि राज्यले खेल्नुपर्ने भूमिकामा कमी हुन नदिने बताउनुभयो ।
उहाँले राज्यले नागरिककालागि दिन गरेका प्रतिवद्धताहरुको आपूर्तिमा आफूहरु सचेत रहेको बताउदै प्रदेश सरकार मातहत रहेका कार्यालयहरुको ब्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो । उहाँले उपभोक्ताका अधिकारको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको बताउदै त्यसकोलागि स्थानीय तहको क्षमता अभिबृद्धिमा ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले इन्सेकले तथ्यमा आधारित रहेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको र त्यसले देशको मानव अधिकारको अवस्थाको सही चित्रण गर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले वर्ष पुस्तकले सुशासन र समृद्ध समाज निर्माणमा भूमिका खेलेको बताउनु भयो ।
उहाँले आर्थिक तथा समाजिक अधिकारको उल्लंघनको बिषयलाई पनि डाटाबेसमा राख्नेगरि ब्यवस्थापन गर्न इन्सेकलाई आग्रह गर्नु भयो । सामुदायिक रेडियो प्रशारक संघका निर्वतमान महासचिव गोविन्द देवकोटाले प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट पाउनु पर्ने कुरालाई ब्यवहारमा उतार्ने वतावरण बनाउन इन्सेकको अभियानले योगदान गरेको बताउनु भयो ।
उहाँले मानव अधिकार उपभोगको वतावरण बनाउनकालागि राज्यका निकायहरु जिम्मेवार र जवाफदेह नभएको गुनासो गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले इन्सेकले सार्वजनीक गरेको प्रतिवेदनले समाज कता जादै छ भन्ने कुराको चित्रण गरेको बताउनु भयो । कानूनी प्रवन्धहरुको दुरुपयोग भएको प्रति पनि चासो राखीनु पर्ने उहाँको कथन थियो ।