वीरगन्ज महानगरपालिकामा राजेशमान सिंहको अग्रता कायमै
वीरगन्ज, २ जेठ । स्थानीय तह निर्वाचनको देशभर मतगणना जारी रहेको छ । दुईदिनदेखि जारी रहेको वीरगन्ज महानगरपालिकाको मतगणनामा अहिले ४ वटा वडाको पनि मतगणना सकिएको छैन । वडा नम्बर १, २ र ३१, ३२ बाट शुरु गरिएको मत गणना दुईदिनमा पनि नसकिएको हो ।
सोमबार बिहानसम्म गणना गरिएको ८५७३ मत मध्य बाम लोकतान्त्रिक गठबन्धनबाट जसपा मेयरका उम्मेदवार राजेशमान सिंहले ४१७५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा एमाले र लोसपा गठबन्धनका मेयरका उम्मेदवार विजय कुमार सरावगीले १८८४ मतले पछ्याईरहनु भएको छ ।
त्यस्तै उपमेयर बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमले २८१६ मत ल्याउनु भएको छ । लोसपाका उपमेयर पुरुषोत्तमलाल झाले ४६३ मत पाउनु भएको छ । त्यस्तै राप्रपाबाट मेयरका उम्मेदवार गिरीश गिरीले १३४ र उप मेयर विना जयसवालले २०८ मत पाउनु भएको छ । स्वतन्त्रबाट उपमेयरमा उम्मेदवारी दिनुभएकी रम्भा मिश्रले ३०२ मत पाउनु भएको छ ।
मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिहरु समयमा नपुग्दा वडा नम्बर १ र २ को मतगणना रोकिएको छ । दुईदिनदेखि लगातार तर सुस्त गतिमा भएको मतगणनामा चारवटा वडापनि अहिलेसम्म सकिएको छैन । सोमबार (आज)बाट थप दुईस्थानमा मतगणना स्थल राखेर मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।