स्व.गोपाल गिरी कृयाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई 

स्व.गोपाल गिरी कृयाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई 

वीरगन्ज, १२ पुस । नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको स्वर्गीय गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार प्रताप श्रेष्ठ र तुलसी भण्डारीलाई प्रदान गर्ने भएको छ । नेपाल पत्रकार महासंघ पर्सका शाखाको सोमबार बसेको बैठकले स्व.गोपाल गिरी पत्रकारिता पुरस्कार २०७७, प्रतिक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई र २०७८ को पुरस्कार राजधानी दैनिकका समाचारदाता तुलसी भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार आगामी माघ १ गते वितरण गर्ने महासंघले जनाएको छ । यसैगरि सोमबारको बैठकले महिला पत्रकारिता तालिम, आचार संहिता तथा आधारभूत पत्रकारिता तालिमको आयोजना गर्ने र नेपाल पत्रकार महासंघको तेस्रो तल्लामा भौतिक पूर्वाधार निर्माण गर्ने निर्णय पनि गरेको छ । यस्तै महिला पत्रकारिता तालिमका लागि शाखाकी उपाध्यक्ष सुष्मा शर्माको संयोजकत्वमा कविता खड्का र रश्मीराज भण्डारी सदस्य रहने गरी समिति गठन पनि गरिएको छ ।

आचार संहिता तथा आधारभूता पत्रकारिता तालिमका लागि शाखाका उपाध्यक्ष युवराज खड्काको संयोजकत्वमा कोषाध्यक्ष संजिव मिश्रा, सहसचिव जियालाल साह, सदस्यहरु सफल खतिवडा र अमित अग्रवाल रहने गरी समिति गठन गरिएको पत्रकार महासंघले जनाएको छ । त्यस्तै नेपाल पत्रकार महासंघको तेस्रो तल्लामा भौतिक पूर्वाधार निर्माणका लागि शाखाका अध्यक्ष अनुप तिवारीको संयोजकत्वमा शाखाका सचिव भूषण यादव र कोषाध्यक्ष संजिव मिश्रा रहन गरि समिति पनि गठन गरिएको छ । 

नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष स्व.गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार हरेक बर्ष एकजना कृयाशील पत्रकारलाई प्रदान गर्दै आएको छ । २०७७ सालमा वितरण गर्नुपर्ने पत्रकारिता पुरस्कार कोरोना महामारीका कारण रोकिएको थियो । यसबर्ष दुईबर्षको एकैपटक पुरस्कार वितरण गर्न लागिएको महासंघका उपाध्यक्ष युवराज खड्काले बताउनुभयो ।