पत्रकारितामा गोपालचन्द्र गौतमले देखाएको बाटो अनुकरणीय : महानगर प्रमुख सरावगी 

पत्रकारितामा गोपालचन्द्र गौतमले देखाएको बाटो अनुकरणीय : महानगर प्रमुख सरावगी 

वीरगन्ज, २ फागुन । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले स्व.गोपालचन्द्र गौतमले वीरगन्जको पत्रकारितामा दिएको योगदान अतुलनीय रहेको बताउनु भएको छ ।

पत्रकार गोपालचन्द्र प्रतिष्ठानद्वारा प्रदान गरिने गोतामे पुरस्कार वितरण समारोहमा बोल्दै महानगर प्रमुख सरावगीले पत्रकारिताको विकासका लागि गोपालचन्द्र गौतमले पु-याएको योगदान चीर स्मरणीय रहेको र उहाँपछिका पत्रकारहरुले पनि उहाँले देखाउनुभएको बाटोको अनुसरण गर्न सुझाव दिनुभयो ।

उहाँले स्व.गौतमको स्मृतिमा स्थापित प्रतिष्ठानले वितरण गर्दै आएको पुरस्कारका लागि पनि महानगरपालिकाले सहयोग गर्दै आएको बताउर्दै थप पाँचलाख रुपैंया उपलब्ध गराउने प्रयास आफ्नो रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले पत्रकारहरुकै हकहितका लागि वीरगन्ज महानगरपालिकाले लोकल्याणकारी विज्ञापन, तथा सञ्चार ऐन पनि ल्याईसकेकोले वीरगन्जका सञ्चार माध्यम र सञ्चार क्षेत्रलाई स्थानीय सरकारले गर्नुपर्ने काममा कुनैपनि समस्या नहुने सुनिश्चिता गरेको बताउनुभयो ।

वीरगन्जका पत्रकार स्व.गोपालचन्द्र गौतमको नाममा स्थापित गोपालचन्द्र प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको गोतामे पुरस्कार यसबर्ष सप्तरीका पत्रकार वैद्यनाथ झालाई प्रदान गरिएको छ । उहाँ सप्तरीबाट प्रकाशित आजको वातावरण दैनिक पत्रिकाका सम्पादक हुनुहुन्छ ।

प्रतिष्ठानले सोमबार नेपाल पत्रकार महासंघमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एकतोला सुनको तक्मा सहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले पत्रकारिताको विकास स्थानीय तहमा नभर्ई समग्र देशको विकास नहुने भएकोले अहिले स्थानीय सरकारको हैसियतमा वीरगन्ज महानगरपालिकाले गरेको कामको प्रशंसा गर्नुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले वीरगन्जको पत्रकारितामा ऐतिहासिक काम प्रतिष्ठानले गरेको र वीरगन्जवासीका लागि गौरवको विषय भएको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष जगदशी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोरले स्वागत मन्तव्य राख्दै स्व.गोपाल चन्द्र गौतमले मोफसलमा रहेर नेपालको पत्रकारितामा पु¥याउनु भएको योगदानको चर्चा गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठ, पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, पूर्व अध्यक्ष सत्रुघन नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बञ्जराले गर्नुभएको थियो ।