नेकपा माओवादी केन्द्र वीरगन्ज महानगरको वडा नम्बर २ र १२ को वडा सम्मेलन सम्पन्न
वीरगन्ज, ४ मंसिर । नेकपा माओवादी केन्द्रको आजबाट देशभर वडा सम्मेलन सुरु भएको छ । शनिबार बिहानैदेखि शुरु भएको वडा सम्मेलनमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ र १२ को सर्वसम्मत वडा समिति चयन गरिएको छ ।
सोही आग्रह अनुसार वीरगन्ज महानगरका केही वडाहरुमा सर्वसम्मत वडा कार्यसमितिको चयन पनि भएको छ । वीरगन्ज महानगरपालकाको वडा नम्बर २ मा प्रकाश कुमार साहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि चयन गरिएको छ । समितिको उपाध्यक्षमा मोमिला खातुन, सचिवमा असाहब आलम ठकुराई, सहसचिव सोहेब आलम, कोषाध्यक्ष मुन्ना आलम तेली लगायत २१ सदस्य रहेका छन् ।
त्यस्तै वडा नम्बर १२ मा जयलाल साह कानुको अध्यक्षतामा उपाध्यक्षमा आविद अन्सारी, सचिवमा सागिर अन्सारी, सहसचिव विकास शर्मा लगायत २१ सदस्यीय वडा कमिटि चयन भएको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन शुरु भएको माओवादीले जनाएको छ ।
वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ । आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।