अहिले मात्रै होईन, पहिल्यैदेखि मधेसी जनताको साथमा किसान श्रेष्ठ
वीरगन्ज, ४ कार्तिक । एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर ४ को बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएको छ । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ मा उहाँको उम्मेदवारीमा केहीले टुरिष्ट उम्मेदवार भनेर टिप्पणी गर्ने गरेका छन् ।
पछिल्लो नेपाली राजनीति वृत्तमा किसान श्रेष्ठ चीरपरिचित नाम हो । उहाँ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई २०७४ सालको निर्वाचनमा पराजित गरेपछि संसदको यात्रा शुरु गर्नु भन्दा अघिदेखि नै मधेसको माटोमा परिचित व्यक्ति हुनुहुन्छ । घरजग्गा कारोबारदेखि कृषि उद्यममा उहाँले बारा जिल्ला मै लगानी गर्नुभएको छ ।
श्रेष्ठले जीतपुर सिमरामा नेपाल मै पहिलो पटक मेवाखेतीको शुरुवात गरेर कृषि क्रान्तिको शुरुवात गर्नुभएको छ । व्यावसायमा सफलता प्राप्त गर्नुभएका श्रेष्ठले राजनीतिमा पनि ठूलै छलाङ्ग मार्नुभएको छ । नेकपा एमालेबाट निर्वाचित निवर्तमान सांसद श्रेष्ठ संसदमा प्रतिनिधिसभा अन्तर्गतको उपभोत्ता हितसम्बन्धी उपसमितिको संयोजक बन्नुभयो ।
त्यसपछि उहाँकै नेतृत्वमा पर्साका तीनवटा उद्योगको अनुगमन गरेको छ । उपसमितिले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ र वडा नम्बर २७ मा रहेको मासु प्रशोधन गर्ने एक उद्योग र जनावरको हड्डी प्रशोधन गर्ने दुईवटा उद्योगको अनुगमन गरेको हो । ती उद्योग सञ्चालनमा आएपछि त्यहाँबाट निस्किने मासु र हड्डीको गन्धले वातावरणीय प्रदूषण भएर स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको उजुरीपछि संसदीय समितिको उपसमितिले अनुगमन निरीक्षण गरेको हो ।
उपसमितिका संयोजक एवम् नेकपाका सांसद कृष्णकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहा र वडा नम्बर २७ उदयपुरघुर्मीमा रहेको बोन मिल्स प्रालि, मास प्लाण्ट प्रालि, मध्यमाञ्चल बोन मिल प्रालि र हिरो बफ मिट सप्लायर्स उद्योगमा स्थलगत अनुगमन गरेर स्थानीयसँग पनि छलफल गरेको थियो ।
उपसमितिको संयोजको हैसियतले उहाँको दायित्वलाई औपचारिकतामा मात्रै सीमित राख्नुभएन । उहाँले स्थानीय जनताको समेत गुनासोहरु सुनेर समाधानको लागि पहल गर्न नागरिकस्तरमा नै छलफल समेत गर्नुभयो । त्यसैले पनि कृष्ण कुमार श्रेष्ठ (किसान) टुरिष्ट उम्मेदवार नभई सबै क्षेत्रका जनताको उत्तिकै सम्मान र सदभाव राख्ने नेताको रुपमा पहिचान बोकेको नेता हुनुहुन्छ ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुईदुई पटक संसद विघटन गरेपछि माधव नेपालको साथमा संविधान रक्षाको लागि सतिसाल जस्तै उभिनु भयो । मन्त्री पदको लागि माधव नेपालतिर आएको भनेर धेरै टिकाटिप्पणी गरेपनि उहाँले जनताको सर्वोच्च संस्था संसदमा जनताले जिताएर पठाएकोले जनमतलाई अपमान गर्नु हुदैन भनेर ओलीले गरेको संसद विघटनको विपक्षमा आफूलाई उभ्याउनुभयो ।
संसद पुर्नस्थापनापछि उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएपछि श्रम गन्तव्य मुलुकहरुसँग वाता र समन्वय गरेर नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुका लागि सहज व्यावस्था मिलाउने काम गर्नुभयो । राजनीतिमा आउनुभन्दा अघिदेखि नै मधेसको माटोमा उहाँको लगानी र मधेसी जनतासँगको पहिलेदेखिकै सामिप्यता र सानिध्यले कृष्ण कुमार श्रेष्ठ किसान बाराको क्षेत्र नम्बर ४ को लागि टुरिष्ट उम्मेदवार नभई योग्य र कर्मठ उम्मेदवार नै हुन् भन्ने बाराको क्षेत्र नम्बर ४ का मतदाताले बुझेका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारहरु मध्य सबैभन्दा उत्कृष्ट उम्मेदवारहरुको सेट पनि बारा क्षेत्र नम्बर ४ मै देखिन्छ । जनयुद्धकालदेखि नै इमानले राजनीति गर्नुभएका नेकपा माओवादी केन्द्रका बारा अध्यक्ष एवं बाराको प्रदेशसभा (क) का उम्मेदवार क्षेत्र बहादुर श्रेष्ठ (अनिल) र मधेस आन्दोलनबाट स्थापित नेता एवं लोकतान्त्रिक समाजवादी पार्टीका मधेस प्रदेश कमिटिका अध्यक्ष र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का उम्मेदवार जितेन्द्र सोनल सहितको समिकरण बलियो देखिन्छ ।