एकातिर जनमत अर्कोतिर नागरिक उनमुक्ति पार्टीको आन्दोलन
वीरगन्ज, ६ जेठ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सरकारको समर्थक दलहरु हुन् । ती समर्थक दलहरु भने अहिले वीरगन्जमा दिनहुँ आन्दोलन गरिरहेका छन् । जनमत पार्टीले चारदिनदेखि लगातार घण्टाघरमा प्रर्दशन गर्दै आएको छ ।
नागरिक उन्मुक्ति पार्टीले पनि पूर्वघोषित कार्यक्रम अनुसार शुक्रबार वीरगन्जको घण्टाघरमा प्रदर्शन गरेका थिए । नागरिक उन्मुक्ति पार्टीले पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदरगरेपछि आन्दोलन घोषणा गरेको थियो । निर्दोष रेशमलाई जेलमा राखेर राजनीतिक भविष्य विगारेको आरोप लगाउने गरिएको छ । उनीहरुले नेपालबन्दसम्मको कार्यक्रम घोषणा गरेपनि अन्ततः बन्दका कार्यक्रमहरु फिर्ता लिने निर्णय गरेको छ ।
त्यस्तै जनमत पार्टीले संघीय सरकारमा सहभागी नभएपनि समर्थन यथावत राखेको छ । मधेस प्रदेशमा सरकारमा सहभागी रहेको छ । यसअघि जसपाका लालबाबु राउत गद्दीको बालामा नै भएको साईकल घोटाला, छोरी शिक्षा वीमा कार्यक्रम, पोखरी सौन्दर्यकरण लगायतका विषयमा भएका भ्रष्टाचारमा कारवाही हुनुपर्ने माग गर्दै वीरगन्जमा जनमतले प्रदर्शन गर्दै आएको छ । संघ सरकारले नक्कली भुटानी सरणार्थी प्रकरणमा समेत निष्पक्ष छानविन र कारवाही गर्नुपर्ने माग गरेका छन् ।
जनमतका पर्सा संयोजक तथा गएको प्रदेशसभाको निर्वाचनमा पूर्वमुख्यमन्त्री लालबाबु राउतकै प्रत्यासी बनेका ओमप्रकाश सर्राफले राउतको कार्यकालमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिदै आउनु भएको छ ।