जितेन्द्र सोनलको गृहपालिकामा एमाले विजयी 

जितेन्द्र सोनलको गृहपालिकामा एमाले विजयी 

वीरगन्ज, ३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता जितेन्द्र सोनलको गृहपालिकामा एमालेले लालभण्डा फहराएको छ । बाराको परवानीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमाले निर्वाचित भएको छ ।

अध्यक्षमा एमालेका रामक्षेत्री पटेल २९१७ मत ल्याएर निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा एमाले कि सुगान्धी देवी ३२३२ मत ल्याएर निर्वाचित हुनुभएको छ । क्षेत्रीका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका जगत नारायण महतोले २४७४ मत ल्याउनु भएको छ ।

उपाध्यक्षमा पनि निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका सावित्री देवी २३८७ मत ल्याउनु भएको छ । एमाले र लोसपाले केही स्थानमा गठबन्धन गरेपनि परवानीपुरमा भने अलग अलग निर्वाचन लडेको थियो । पाँच वडा रहेको गाउँपालिकामा दुई वडा एमालेले जितेको छ । वडा नम्बर २ मा नेकपा एमालेका नुरुल होदा अन्सारी र वडा नम्बर ३ मा इब्राहिम मियाँ निर्वाचित हुनुभएको छ ।

नुरुलहोदा ५८५ मत ल्याएर निर्वाचित भएका छन भने उहाँका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका सुरेश साह ४८५ मत ल्याउनु भएको छ । यस्तै इब्राहिम ८८४ मत ल्याएर निर्वाचित हुदा उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अनिल राम ८२१ मत ल्याउनु भएको छ । यसअघि एमालेले जितेको वडा नम्बर ४ भने लोसपाले जितेको छ ।