पर्सागढीमा जसपाले वडामा विरासत जोगाउन सकेन, लोकनारायणको आफ्नै वडामा स्वतन्त्र विजयी
वीरगन्ज, ३ जेठ । स्थानीय तह निर्वाचनको मत परिणामहरु सार्वजनिक हुने क्रम जारी रहेको छ । पर्साको ३ वटा नगरपालिका मध्य एउटा पर्सागढीमा ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ ।
पर्सागढी नगरपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार लोकनारायण यादवको वडामा स्वतन्त्र उम्मेदवार विजयी भएको छ ।
लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार नवल किशोर कलवारले ४९८ मत ल्याएर विजयी हुनुभएको हो ।
वडा नम्बर १ र २ मा एमाले विजयी भएको छ । १ मा राजपुकार खवास र २ मा विरेन्द्र प्रसाद थारु वडा अध्यक्षमा विजयी हुनुभएको छ । खवासले ७०४ मत ल्याएर विजयी हुनुभएको छ ।
थारुले ८३३ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै वडा नम्बर ३ मा नेपाली कांग्रेसका शुकमान तामाङ विजयी हुनुभएको छ । यद्यपि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गर्न बाँकी छ । वडा नम्बर नम्बर ७ मा नेपाली कांग्रेसका शंकर रायभर निर्वाचित हुनुभएको छ ।
रायभरले ६२२ मत ल्याउनु भएको छ । वडा नम्बर ५ मा पनि जसपाले आफ्नो विरासत जोगाउन सकेन । यसअघि संघीय समाजवादीबाट (अहिलेको जसपा) असलम आलम वडा नम्बर ५ मा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
अहिले वडा नम्बर ५ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेको छ । लोसपाका नितेश मिश्रले ६२३ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । निवर्तमान नगर प्रमुख तथा अहिले पनि नगर प्रमुखमा निरन्तरता दिएका लोकनारायणले भने आफ्नो वडामा समेत कांग्रेसलाई जोगाउन सकेन । अपडेट