नेकपा महानगर कमिटिको कुहडीमा भेला सम्पन्न
ट्रिब्यून न्युज
वीरगन्ज, २३ पुस । नेकपा महानगर कमिटीले वीरगन्ज महानगरपालिका वडा नम्बर २७ कुहडीमा कार्यकर्ता भेला सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिगमन विरुद्ध आन्दोलनको तयारी गर्न महानगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको नेकपा महानगर कमिटि अध्यक्ष रहबर अन्सारीले जानकारी दिनुभयो ।
अन्सारीकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपा महानगर एवं केन्द्रीय सदस्य दिनेश राई, केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, प्रदेश कमिटि सदस्य बालगोपाल थापा, बाबुराम कौशिक, संविधानसभा सदस्य विचारी यादव, युवा नेता अरविन्द सिंह, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ता लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कुर्सी बचाउनका लागि संसद विघटन गरेर जनताको मतलाई अपमान गरेको भन्दै नेकपाको आन्दोलनले संसद पुनस्र्थापना गरेरै छाड्ने बताएका थिए । जनताको करबाट राज्यको ढुकुटीमा मोज गर्नेहरुले अहिले प्रधानमन्त्री केपी ओलीले चालेको असंवैधानिक कदमको समर्थन गरेको भन्दै गणतन्त्रमा कोही पनि राजा महाराजा हुन खोजे जनताले सडकमा ल्याउने चेतावनी दिए ।
कामचलाउन सरकारको म्यादी मन्त्री भएकाहरुले अहिले सत्ता र शक्तिको दम्भ जनतामाथि प्रदर्शन गरेको भन्दै वत्ताहरुले त्यसको जवाफ जनताले नै दिने बताए । त्यसको लागि आन्दोलनको आँधीवेहरी ल्याउन जनतालाई तयार रहन पनि आग्रह गरेका थिए ।