एकजना व्यक्तिको सनकले देशलाई नै अप्ठयारोमा परेको नेकपा नेता पौडेलको भनाई 

एकजना व्यक्तिको सनकले देशलाई नै अप्ठयारोमा परेको नेकपा नेता पौडेलको भनाई 

ट्रिब्यून न्यूज
वीरगंज, २५ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले एकजना व्यक्तिको हठले नै मुलुक अप्ठयारोमा परेको बताउनुभएको छ । प्रचण्ड–नेपाल पक्षको नेकपा वीरगंज महानगर कमिटीद्वारा शनिबार वीरगंजस्थित नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी फुट्नु र अहिलेको अवस्थामा ल्याउने जिम्मेवार व्यक्ति ओलीनै भएको आरोप लगाउनु भयो ।


जनताको रगत, पसिनाले ल्याएको गणतन्त्र कसैको कुर्सी सुरक्षित गर्ने हतियार नबनाउन उहाँले सचेत गराउनुभयो ।  प्रचण्ड–नेपाल समूहको नेकपा वीरगंज महानगर कमिटीद्वारा आज वीरगंजस्थित नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले आत्मआलोचना गरी प्रतिगमन सच्याएर आएमा ओलीलाई गरिएको कारबाही फिर्ता लिइने नेता पौडेलले बताउनुभयो।

नेता पौडेलले पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय नमान्ने र तानाशाही रुपमा अगाडि बढ्ने अधिकार ओलीलाई कसले दियो ? भन्ने प्रश्न गर्दै शुक्रवार धनगढीमा आयोजित आमसभामा ओलीले जनतालाई दिगभ्रमित गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले प्रचण्ड(नेपाललाई भगौडा नेता भन्ने नेता ओली आफै भगौडा भएको दावी गर्नुभयो ।


कुनै हालतमा निर्वाचन हुन नसक्ने र ओली सरकार सत्ता लम्ब्याउने खेलमा रहेको बताउदै नेता पौडेलले निर्वाचनको मिति घोषणा नगरी संसद भंग गर्न नमिल्ने भएकोले संसद भंग गर्न मात्रै निर्वाचनको मिति घोषणा गरेको दावी गर्नुभयो । पार्टी भित्रको समस्यालाई समग्र देशकै समस्या देखाएर जनतालाई नै भ्रममा पारेको उहाँको भनाई थियो ।

नेकपा वीरगन्ज महानगर कमिटि अध्यक्ष रहबर अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, केन्दीय सदस्य एवं महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिति सदस्य बालगोपाल थापा, निवर्तमान सांसद पुष्पा कुमारी कर्ण, संविधानसभा सदस्य विचारी यादव, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, युवा संघका केन्द्रीय सदस्य

अरुण यादव, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालनको जिल्ला सदस्य नन्दकिशोर पञ्जियारले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य महानगरपालिकाको वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्युम्न सेढाँईले गर्नुभएको थियो ।