एमसीसीको विरोधमा पाँचदलले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव, विभिन्न स्थानबाट बन्दकर्ताहरु पक्राउ 

वीरगन्ज, ४ फागुन । एमसीसीको विरोधमा पाँचवटा कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको देशभर आंशिक प्रभाव परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युुनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल (आहुती) लगायत पाँचवटा दलले आह्वान गरेको बन्दको देशभर आंशिक प्रभाव परेको छ ।  काठमाडौं उपत्यकामा सवारी साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् ।

बजार पसल पनि खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ । यसैविच बन्द गराउँदै हिड्ने ३९ जना काठमाण्डौ उपत्यकाबाट पक्राउ परेका छन् ।  बिहान काठमाण्डौबाट २४, ललितपुरमा १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो । यसैविच वीरगंजमा पनि बन्दको न्युन प्रभाव देखीएको छ । अरु दिनको तुलनामा यातायात कम चलेका छन् भने कतिपय शैक्षिक संस्था पनि बन्द रहेका छन् । लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधानहरु चलेका छैनन् ।

निजी सवारी साधानहरु भने  निर्वाध रुपमा चलेका छन् । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको बताउनुभयो ।

उहाँका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ । छोटो दुरीका सवारी साधन पनि छिटफुट रुपमा मात्रै चलिरहेको एसपी धितालले बताउनुभयो । यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका–३ मा शंकास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले लम्कीचुहा नगरपालिका–३ स्थित धोवेनी खोलाको पुलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिनुभयो । त्यहाँ भेटिएको शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाइएको छ । डीएसपी विष्टकाअनुसार जिल्लामा रात्रीकालीन बसहरु गन्तव्यतर्फ गइरहेको भएपनि अन्य सवारी साधन चल्न सकेका छैनन् । 

यसैगरी पूर्वपश्चिम राजमार्गसहित दाङका प्रमुख बजार क्षेत्रका सडकमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द छन् । दाङका मुख्य बजारहरू घोराही, तुलसीपुर, लमही, भालुबाङ, सिसहनियाँ, गढवा क्षेत्र सुनसान छन् । बन्दमा अप्रिय घटना हुन नदिन बजारका चोक–चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सदरमुकाम घोराही बजारमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु राष्ट्रिय झण्डा लिएर सडकमा उभिएका छन् । बन्द गराउँदै हिंडेको आरोपमा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका दाङ जिल्ला अध्यक्ष मनोज थापा र थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई भालुवाङबाट नियन्त्रणमा लिएको छ ।