संसदमा देखिएको गतिरोधको अन्त्य होला आज ?

संसदमा देखिएको गतिरोधको अन्त्य होला आज ?

वीरगन्ज, ५ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको हठका कारण संसद अवरुद्ध भएको छ । एमालेको संसद अवरोधले जनताका यावत समस्याहरु जनताका जनप्रतिनिधिले राख्न पाएका छैनन् ।

जस्ले गर्दा ऐन कानून निर्माण गर्ने थलो संसद बिजिनेस विहिन बनेको छ । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सरकारको तर्फबाट पनि प्रधानमन्त्री पुष्पकमल दाहाले प्रयास जारी राख्नु भएको छ । गएराति बसेको सर्वदलीय बैठकले गतिरोध अन्त्य होला भन्ने संकेत भने गरेको छ ।

उच्चस्तरीय छानविन समिति गठन गर्न सर्वदलीय बैठकमा सहमति भएको छ । त्यसको संरचना र कार्यक्षेत्रको भने आज टुंगो लाग्ने छ । यस विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि चासो देखाउनु भएको छ । राष्ट्रपति पौडेलकै आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाउनु भएको हो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने(दिने काम हुने जानकारी दिनुभयो । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए । यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाउनु भएको हो ।

उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको माग र सरकारी संयन्त्रलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण साउन १० गतेदेखि संसद अवरुद्ध हुँदै आएको थियो । उच्चस्तरीय समिति गठनमा सहमति भएकाले आज दिउँसो तीन बजे बस्ने संसद बैठक भने अवरोध नगर्ने एमाले नेताहरुले बताएका छन् ।