अझ सशक्त रूपमा अघि बढ्न शिक्षा दिएको छ : अनिल श्रेष्ठ 

अझ सशक्त रूपमा अघि बढ्न शिक्षा दिएको छ : अनिल श्रेष्ठ 

वीरगन्ज, १० मंसिर । नेकपा माओवादी केन्द्रका बारा अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले जित्ने प्रवल सम्भावना रहेको निर्वाचनमा भएको पराजयले शिक्षा दिएको बताउनु भएको छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट बामलोकतान्त्रीक गठबन्धनका उम्मेदवार रहनुभएका श्रेष्ठले पराजित भएपछि सामाजिक सञ्जालबाट धन्यवाद दिदै पराजित हुनुको कारण पार्टीले पनि समिक्षा गरेर सही र सत्य कुरा ल्याउने बताउनु भएको छ ।

चुनावको परिणाम संगसंगै रुघाखोकी, ज्वारोको कारण म घरमै आराम गरिरहेको र स्वास्थ  ठिक भए पश्चात वडा वडामा गै गठबन्धनका नेता, कार्यकर्ता र मतदाताहरुसंग भेटघाट गर्ने जानकारी दिदै गेल डेभेर्सको भनाई उधृत गर्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “एउटा भनाइ छ । आफ्नो सपनालाइ जिवन्त राख्नु होस् । यो बुझ्नुहोस कि कुनैपनि कुरा प्राप्त गर्नको लागि भरोसा, आफूप्रतिको बिश्वास, योजना, कडा मेहेनत, दृढ संकल्प र निरन्तर लगावको आवश्यकता पर्दछ। ख्याल राख्नुहोस ,जसमा बिश्वास छ ,उसले यि सबै संभव छ ।”

जीवन सफल र असफल बेहोर्दै अघि बढने एउटा यात्रा भएको र जनता नै महान हुने भएकोले कहिले यो रोज्न पुग्छ, कहिले त्यो रोज्न पुग्ने बताउनु भएको छ । उहाँले यदि आफू सही प्रमाणित गर्न चाहाने हो भने जनतासम्म आफ्नो एजेन्डा लिएर जानुको बिकल्प नरहेको बताउदै श्रेष्ठले माओवादी केन्द्रले पनि समिक्षा गरेर सहि सत्य कुरा ल्याउने बताउनु भएको छ । जनतामा चुनावी अभियानमा मंचबाट गठबन्धन लोकतन्त्र ,संबिधान रक्षाको लागि भएको र भोट दिएर जिताउन मतदाताहरुसँग आग्रह गरिएकोले गठबन्धनबाट पनि गहिरो समिक्षा गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले ,हार कसरी भयो ? आम मतदाताहरुले प्रश्न गरि रहेकोले यसको जवाफ हामी गठबन्धनले दिनै पने बताउनुभयो । उहाँले भन्नुभएको छ, “यो इतिहास बन्दैछ ढिलो चाडो जवाफ दिनै पर्छ। समाज समृद्ध बनाउन इमानदार हुनै पर्छ। जालझेल ,षड्यन्त्र ,बदलाभाव, रिसीवी साँध्दै अघि बढे समाजको प्रगति र उन्नति हुन सक्दैन, कोही पात्र बिशेष खुशी त हुन सक्छ तर देशमा अस्थिरता र अराजकता कायम भैरन्छ ।  आजैबाट सबै प्रकारको गलत क्रियाकलापहरुलाइ चिदै अघि बढौ।”

गठबन्धनको उम्मेदवार म अनिल श्रेष्ठ हार्दै गर्दा धैरै मतदाताहरु दुखी रहेको र धेरै साथीहरूको भेटघाट र फोनबाट सहानुभूति पनि पाईरहेको बताउदै श्रेष्ठले सबैप्रति आभार र धन्यवाद दिनुभएको छ ।

आफूलाई हराउने चलखेल गरेकाहरुप्रतिपनि इंगित गर्दै श्रेष्ठले लख्नुभएको छ, “हराउन सफल भईयो भन्ने आदरणीय महानुभावहरुलाइ पनि धन्यवाद दिन चाहान्छु। प्रबल संभावना रहेको चुनाव पराजयले अझ सशक्त रूपमा अघि बढन शिक्षा दिएको छ। चुनावी हारको बेला मिडियामा विभिन्न चलखेल हुने गर्दछ ,यसमा मेरा सबै नेता ,कार्यकर्ता ,समर्थक,शुभ चिन्तकहरुमा अपिल गर्न चहान्छु ,सचेत रहनु होला ,सामाजिक संजालमा सहि कुरा लेख्नु होला आबेगमा आएर कसैलाइ आच आउने गतिविधि नगर्नु होला। धैर्यता ,संयमता राख्नु होला। हारलाइ स्वीकार गर्ने क्षमता राखि जितको योजना निर्माण गर्नु पर्दछ।”

 उहाँले समर्थक शुभ चिन्तकहरुबाट भनिएको र लेखिएको कुराबाट कहिँ कतै चित्त दुखेको भए माफी पनि माग्नुभएको छ । बाटो घुमउरो उकालो ओरालो  रहेको तर सामना गर्दै अघि बढे उज्यालो भबिष्य देखिन्छ भनेर श्रेष्ठले लेख्नुभएको छ ।