माओवादी सहितको गठबन्धन जिताउनु मेरो पहिलो प्राथामिकता : रहबर अन्सारी
वीरगन्ज । नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीले स्थानीय तह निर्वाचनमा माओवादी सहितको गठबन्धन जिताउनु पहिलो प्राथामिकता रहेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार फत्ते आलमको वीरगन्ज चिनी कारखाना आवास क्षेत्रमा शनिबार भएको घरदैलो कार्यक्रममा माओवादीका उम्मेदवार सहितको गठबन्धनलाई जिताउन आफू भोट माग्दै हिडेको बताउनुभयो ।
महानगरपालिकामा मेयर र उपमेयरमा पाँचदलीय गठबन्धन भएपनि वडा अध्यक्षमा कसैले नछोडेकोले माओवादीलाई वडाहरुमा जिताउन आफू लागि परेको बताउनुभयो । गठबन्धन गरेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सबैले आ–आफ्ना उम्मेदवार उठाएकोले वडाका माओवादी उम्मेदवारलाई जिताउनु आफ्नो पहिलो दायित्व भएको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभयो, “महानगरको मेयरमा गठबन्धनका उम्मेदवार जनता समाजवादीका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमलाई भन्दा बाहिर भोट जादैन । तर, वडा अध्यक्षमा माओवादीले उठाएको उम्मेदवारलाई छोड्ने हो भने भोली माओवादीको स्थान कहाँ रहन्छ ? त्यसैले पनि म वडाहरुमा माओवादीबाट उम्मेदवार बनेकाहरुलाई जिताउने अभियानमा निरन्तर लागिरहेको छु ।”
माओवादी केन्द्रको महानगर अध्यक्षको हैसियतले महानगरपालिकाको वडाहरुमा उम्मेदवार भएका माओवादी साथीहरुलाई जिताउनु पर्ने दायित्व भएको बताउदै मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुको विकल्प नरहेको बताउनुभयो ।
शनिबार बिहान भएको घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शेष चाँदतारा, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मधेस प्रदेशका सचिव मूनेश कुमार लायो मगर,
अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष हिरा भट्टराई, जिल्ला सदस्य कमल बहादुर पिठाकोटे मगर, वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार फत्ते आलम, कहरसिंह आले मगर, सूर्य कुमारी दर्लामी लगायतको उपस्थिति रहेको थियो ।