पर्सामा प्रमुख दलहरुभित्र चरम गुटबन्दी
वीरगन्ज, १९ भदौ । पर्सामा प्रमुख राजनीतिक दलहरुभित्र चरम गुटबन्दी देखा परेको छ । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी भित्र विभिन्न गुट उपगुट देखिएका हुन् । आन्तरिक गुटबन्दीकै कारणले कमजोर भएको नेपाली कांग्रेसमा जस्तै अहिले अन्य दलहरुमा पनि गुटबन्दी देखा परेको छ ।
पार्टी सदस्यताको हिसाबले सबैभन्दा बलियो देखिएको नेपाली कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतरबीचको तीब्र गुटबन्दी देखिएको छ ।
निर्वाचन ताका संस्थापन इतर समूहले सहयोग नगरेको भन्दै अनुशासनको कारवाही समेत गरिएको थियो । अहिले फेरी धमाधम कारवाही फुकुवा गरेको छ । कांग्रेस पर्साका जिल्लाको नेतृत्व चयनदेखि एकलौटी गर्दै आएको संस्थापन पक्षको दबदबा अझै कायम रहेको छ ।
त्यसको पछिल्लो असर पार्टीको भातृ संगठन नेपाल मुस्लीम संघमा पनि परेको छ । पार्टी नेतृत्वले विधान विपरित गुण्डागर्दी शैलीमा मुस्लीम संघको नेतृत्व चयन गरेको भन्दै निवर्तमान अध्यक्ष जाकिर हुसैन समूहले पत्रकार सम्मेलन गरेर नै अधिवेशन स्थगित गरेको जनाएको छ । सांगठनिक हिसाबले बलियो र चुस्त देखिएको नेकपा एमाले भित्र पनि व्यापक असन्तुष्टि र गुटबन्दी देखिएको छ ।
नेकपा विभाजनपछि पूराना कम्युनिष्ट नेताहरु भन्दा नवप्रवेशीहरु हावी हुँदा पार्टीमा व्यापक असन्तुष्टि बढेको हो । एमाले पार्टी भित्र देखिएको चरम गुटबन्दीकै कारणले जयप्रकाश थारुको नेतृत्वको जिल्ला कमिटि विघटन गर्नु परेको थियो ।
त्यसपछि पनि अहिले सचिवालय गठनमा व्यापक असन्तुष्टि देखिएको छ । जनाधार नभएका नेतृत्वहरुले सचिवालयमा नयाँ नयाँ व्यक्तिहरुलाई राखेर पार्टीलाई ध्वस्त पार्न खोजेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।
आन्तरिक गुटबन्दी र द्वन्द्व समाधान गर्न जिल्ला इञ्चार्जहरु हेरफेर गरेपनि जिल्ला नेतृत्वले आन्तरिक गुटबन्दीलाई नै थप मलजल गरेको एमालेका एक जिम्मेवार नेताले बताए । पार्टीमा केन्द्रीय सस्दय निर्मला देवकोटा, प्रभु हजरा र संयोजक डाक्टर विश्वम्भर शर्माकै कारणले पार्टी पूराना नेताहरु पाखा लागेको र पार्टी कमजोर बनाउने लगेको ती नेताले आरोप लगाएका छन् ।
संयोगले तीनैजनाको घर एउटै वडामा पर्छ । वडामा जनाधार नभएको नेताहरुले नै पार्टी सञ्चालनको नेतृत्व पाउँदा पार्टी कमजोर भएको उनको बुझाई छ । देवकोटा, हजरा र शर्मा तीनै जनाको घर वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ मा पर्छ । उनीहरुले अहिलेसम्म आफ्नो वडामा एउटा वडा अध्यक्ष पनि जिताउन नसकेको असन्तुष्ट नेताको तर्क छ ।
पछिल्लो समयमा राम्रो पकड जमाउन सफल रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा पनि दुईगुट देखिएको छ । स्थानीय तहको निर्वाचनदेखि नै पार्टीमा देखिएको अन्तरिक द्वन्द्व प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केही हदसम्म मत्थर भएको थियो । त्यसपछि पुनः द्वन्द्व शुरु भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव समूह र पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवपक्षबीच गुटबन्दी शुरु भएको हो ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेश अध्यक्ष रामबाबु यादव लगायत संस्थापन पक्ष जिल्ला अध्यक्ष रामनरेश यादव पक्षमा नै रहेका छन् भने सांसद प्रदीप यादवको पक्षमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपा पार्टीका महानगर अध्यक्ष इश्वर यादव लगायतका रहेका छन् ।
जसपा भित्रको गुटबन्दी सार्वजनिक सभा समारोहमा गरिएको भाषणले पनि स्पष्ट देखिएको छ ।
पार्टीको महानगरपालिकको विस्तारित भेलामा सांसद यादवले जिल्ला अध्यक्षले पार्टीलाई एनजीओ जस्तो चलाउन खोजेको आरोप लगाउनु भएको थियो ।
त्यस्तै जिल्ला अध्यक्ष रामनरेश यादवले भने पार्टीको नेतृत्व विरुद्ध नै नाराबाजी गर्ने पार्टीको झण्डा समेत जलाउन लगाएर पार्टीमा अराजकता देखाएर पटक पटक कारवाहीमा परिसकेको व्यक्तिले पार्टी संगठनको नेतृत्व प्रति लगाएको आरोप निरर्थक रहेको बताउनु भएको छ । जनयुद्धबाट स्थापित अर्को पार्टी नेकपा माओवादी पार्टीको संगठन झन कमजोर भएको छ ।
२0७४ सालको स्थानीय तहको निर्वाचनमा ३ वटा स्थानीय तहको प्रमुख जित्न सफल भएको नेकपा माओवादी पार्टी नेकपाको फुटपछि एउटा प्रदेशसभा निर्वाचन क्षेत्र र दुईवटा वडा मात्रै जित्न सफल भएको छ ।
एकअर्काको नेतृत्व स्वीकार गर्न नसक्दा नेकपा माओवादी केन्द्र पर्सामा नेता बाहेक कार्यकर्ता र संगठन निर्माण हुन सकेको छैन । अहिले माओवादी केन्द्रले शुरु गरेको तीन महिना अभियान चलाएर पार्टीलाई वडा स्तरबाट नै मजबुद बनाउने गरी नेता कार्यकर्ताहरुलाई खटाएको छ ।
तथापी यसभित्र पनि नेताहरुले गुटबन्दीको राजनीति गर्न छोडेका छैनन् । खासगरी माओवादी केन्द्र भित्र जनयुद्धबाट आएका नेता कार्यकर्ता र खुला राजनीति पछि प्रवेश गरेका र नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चासँग पार्टी एकतापछि पर्सा जिल्लामा चरम गुटबन्दी देखिएको हो । माओवादी केन्द्रका नेताहरु एक आपसमा नमिल्ने र अन्य पार्टीहरुसँग मिलेर आफ्नै पार्टीका नेताहरु विरुद्ध लाग्ने प्रवृत्तिले पार्टी कमजोर भएको हो ।