पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार कर्णको सम्पर्क कार्यालय स्थापना, गठबन्धनको जित सुनिश्चित रहेको कर्णको दावी

पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार कर्णको सम्पर्क कार्यालय स्थापना, गठबन्धनको जित सुनिश्चित रहेको कर्णको दावी

वीरगन्ज । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्णको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ स्थित वीरगन्ज चिनीकारखाना आवासक्षेत्रको नजिकै अनिरुद्ध प्रसाद कलवारको घरमा स्थापना गरिएको क्षेत्र नम्बर १ को सम्पर्क कार्यालयको पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार लक्ष्मणलाल कर्णले उदघाटन गर्नुभयो ।

कार्यालय उद्घाटन गर्दै उम्मेदवार कर्णले आफ्नो जित सुनिश्चित रहेको बताउनुभयो । उहाँले मधेस र मधेसी जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने तत्वहरुको गठबन्धनलाई यसपटक जनताले परास्त गर्ने जिकिर गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई जुनसुकै हालतमा विजयी गराउनका लागि तत्काल गठबन्धनको जिल्ला स्तरीय बैठक बोलाएर रणनीति बनाउने तयारी गरिएको बताउनुभयो । उहाँले अहिलेको बाम लोकतान्त्रिक गठबन्धन एमाले जसपाको जस्तो ठगबन्धन नभएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा एमालेसँग गरिएको गठबन्धनबाट लोसपा ठगिएको बताउदै एमालेले जहिलेपनि तालमेलको नाममा धोका दिने गरेको बताउनुभयो । अध्यक्ष झाकै अध्यक्षतामा भएको कार्यक्रममा लोसपाका नेताहरु नेजामुद्दीन समानी, अनिरुद्ध प्रसाद कलवार, सुधिर कर्ण लगायतको उपस्थिति रहेको थियो ।