माओवादी धारका नेताहरुको बैठक सकियो, विस्तृत शान्ति सम्झौता विपरितको क्रियाकलापको प्रतिवाद गर्ने
वीरगन्ज, २३ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि बसेको माओवादी धारका नेताहरुको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा माओवादी आन्दोलनका विभिन्न दलहरूको बैठकले विभिन्न निर्णय गर्न सहमत भएका छन् ।
बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने, संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ भन्नेमा एकमत भएका छन् ।
त्यसको शीघ्र रूपमा कार्यान्वयन गर्न ध्यानाकर्षण पनि गराएको छ । विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि बैठकपछि जारी गरिएको संयुक्त हस्ताक्षर सहितको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा (माओवादी) का खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल (आहूती), नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी थिए ।
सर्वोच्च अदालतले प्रधानमन्त्री प्रचण्डलाई तीन वर्ष पहिला सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरुको बैठक पहिलो पटक संयुक्त रुपमा बसेको हो ।
केही दिनअघि भएको एक कार्यक्रममा पनि माओवादी धारका नेताहरुले प्रधानमन्त्रीविरुद्धको मुद्दामा माओवादी चुप लागेर नबस्ने चेतावनी दिइसकेका छन् । ‘जनयुद्धकालीन’ मुद्दा उठ्न थालेपछि माओवादी धारका पार्टीहरू एकै ठाउँमा छलफलमा जुटेका छन् ।