ओली क्याविनेटमा श्रीमान श्रीमती आलोपालो मन्त्री 

वीरगन्ज, २७ जेठ। कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाएर  ओलीले मन्त्री परिषदलाई पूर्णता दिएको हो ।  २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।

ओलीको मन्त्री परिषदमा फेरी अर्को एकजना मन्त्री दम्पतीले आलोपालो पद पाएका छन् । नेकपा एमालेमा प्रवेश गर्नुभएका राम बहादुर थापा बादलकी श्रीमती सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्नु भएको छ । यसअघि शेर बहादुर तामाङकी श्रीमतीलाई प्रदेश १ को सामाजिक विकास मन्त्रीमा नियुक्त गरेको छ । त्यसपछि फेरी शेर बहादुर तामाङलाई पनि ओलीले क्याविनेटमा मन्त्री बनाउनु भएको छ । त्यस्तै जुली महतो हटेपछि उहाँको श्रीमान रघुविर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउनु भएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गर्नुभएको छ । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहनुभएका अधिकारीको नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि जिम्मेवारी खोसिएको थियो । रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बन्नुभयो ।

प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाउनु भएको छ । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्री ओलीमाथि थियो । एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नु भएको छ । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका पहाडीले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गर्नुभएको थिएन ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले जेठ २ मा फर्किने सार्वजनिक प्रतिवद्धता जनाएकाले आफू मन्त्री हुन तयार भएको नवनियुक्तमन्त्री पहाडीको प्रतिक्रिया छ । एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बन्नु भएको छ ।

प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त हुनुभएको थियो । यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बन्नु भएको छ । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो । एमालेकी आशा विक वनराज्यमन्त्री बन्नुभएको छ ।