वीरगन्ज महानगरमा पाँच दलीय गठबन्धनको उम्मेदवारका प्रतिबद्धता यस्ता छन् 

वीरगन्ज महानगरमा पाँच दलीय गठबन्धनको उम्मेदवारका प्रतिबद्धता यस्ता छन् 
पाँचदलीय गठबन्धनका उम्मेदवारका प्रतिबद्धता पत्र सार्वजनिक गर्दै । तस्वीर : ट्रिब्यून न्युज

वीरगन्ज । बैशाख ३० हुने स्थानीय तहको निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहँदा उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता पत्रहरु सार्वजनिक गरेका छन् । मधेस प्रदेशको एक मात्रै महानगरपालिका वीरगन्जमा सक्ता गठबन्धनका उम्मेदवारहरुले शुक्रबार साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन गरेर सत्तारुढ पाच दलले गठबन्धनका उम्मेदवारहरुको साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । गठबन्धनको साझा प्रतिबद्धतामा अनियमितताको छानबिन र कार्वाही, गुनासो सुन्न मेयरको प्रत्यक्ष निगरानीमा हेल्पलाईनको व्यवस्था, सम्पूर्ण करको पुनरावलोकन गर्दै करको दर घटाइने र दायरा बढाइने लगायतका रहेका छन् ।

त्यस्तै गरिब तथा विपन्न नागरिकको बिजुली र पानीको न्यूनतम शुल्क महानगरले व्यहोर्ने , महानगरमा  व्यवसाय गरिरहेका विदेशी र स्वदेशी नागरिकलाइ ‘डिजीटल आईडेन्टिफिकेसन’ कार्ड उपलब्ध गराउने, फोहरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रण गर्न एक महिने ‘सरसफाइ घरदैलो अभियान’ चलाइने प्रतिबद्धता गठबन्धले गरेको छ ।

नयाँ घरको नक्सा पास गर्दा १ घर बराबर कम्तीमा २ बिरुवा अनिवार्य रुपमा हुर्काउनैपर्ने नियम पनि लागू गरिने, फुट पाथ’ व्यवस्थापन गरिने, महानगरलाइ ध्वनि प्रदूषणमुक्त बनाउने, ‘सबैका लागि सुलभ शिक्षा’ का लागि विद्यालय भर्ना अभियान चलाइने , सरकारी विद्यालयका बेथिती अन्त्य गर्ने , वीरगञ्ज विश्वविद्यालय निर्माणका लागि यसअघि नै उठेको रकमको खोजी गरी यथाशीघ्र विश्वविद्यालय निर्माणको काम अघि बढाउन पहल गरिने पनि साझा प्रतिबद्धता पत्रमा समेटिएको छ ।

प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी स्थापना, ,वीरगन्जलाई मेडिकल हबको रुपमा विकास, चक्रपथ निर्माण गरी वीरगन्जको ३२ वटै वडालाई सडक सञ्जालमा जोडिने, घण्टाघर चोकमा ट्राफिक व्यवस्थापन गर्न ओभर ब्रिज निर्माण गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

गठबन्धन दलका संयोजक एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा गठबन्धनका मेयर उम्मेदवार राजेशमान सिंह, उमेयरका उम्मेदवार इम्तियाज आलम, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपा नेता एंव सांसद प्रदीप यादव, नेकमा मओवादी केन्द्र पर्साका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज विजय महतो, संयोजक रामदरश कुशवाहा, नेकपा एकिकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, महानगर इन्चार्ज चिरञ्जिवी आचार्य लगायतको पनि सहभागीता थियो ।