स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको ‘गुडिया योजना’

दलित परिवारमा जन्मिएको छोरीलाई २० बर्षको लागि २० हजारको मुद्दती खाता

स्वतन्त्र उम्मेदवार रम्भा मिश्राको ‘गुडिया योजना’
उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा संकल्प पत्र सार्वजनिक गर्दै । तस्वीर : ट्रिब्यून न्युज

वीरगन्ज । वीरगन्ज महानगरको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएकी रम्भा मिश्राले पनि संकल्प पत्र मार्फत आफनो चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको छ । शुक्रबार नै वीरगन्जको होटल कुमु प्यालेसमा आयोजना गरिएको कार्यक्रममा संकल्प पत्र मार्फत चुनावी एजेण्डा सार्वजनिक गर्नुभएको हो ।

उपमेयर उम्मेदवार मिश्राले सार्वजनिक गर्नुभएको संकल्प पत्रमा महिला सशक्तिकरण देखि महानगरको भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, युवा तथा बालबालिका, कृषि, सरसफाइ, सामाजिक न्याय, उद्योग पर्यटनका विषयहरु प्राथामिकतामा राखिएका छन् ।

उहाँले महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने, हरेक वडाका कम्तिमा पाँच सय महिलालाई सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, गरीब, दलित एवं अति विपन्न परिवारका छोरीहरुको विवाहका लागि आवश्यक सहयोग गर्ने तथा दलित परिवारमा जन्मिने छोरीहरुको लागि ‘गुडिया योजना’ अन्तर्गत २० बर्षका लागि २० हजार मुद्दती खाता खोलिदिने संकल्प पत्रमा उल्लेख छ ।

त्यस्तै सामुदायिक विधालयहरुलाई छात्रा मैत्री बनाउन पहल गर्ने, छात्राहरुलाई आत्मसुरक्षाका लागि तालिम प्रदान गर्ने, हरेक वडामा एमबीबीएस सहितको स्वास्थ्य चौकी र प्रसुती गृहको स्तरोन्न्ती स्थापनाका लागि पहल, हरेक वडामा निःशुल्क एम्बुलेन्स सुविधाका लागि पहल, विपन्न परिवारकी सुत्केरी महिलालाई पोषणका लागि ३ महिनासम्म प्रती महिना ५ हजारको दरले सुत्केरी भत्ताको व्यावस्था लगायत समेट्नु भएको छ ।

प्रत्येक टोलमा युवाहरुको फिट्नेसका लागि निःशुल्क फिट्नेश क्लबको स्थापना, प्रत्येक वडामा निःशुल्क व्यवस्थित सार्वजनिक शौचालय निर्माण, सरसफाईमा लाग्ने शुल्क पूर्ण रुपमा हटाउने, न्यायिक समितिलाई जनमैत्री बनाउन घरदैलोमा नियमित सुनुवाई र छलफल आयोजना पनि संकल्प पत्रमा उल्लेख गरिएको छ ।

वीरगन्ज बजार २४ सै घण्टा खुला, किसानका लागि नियमित तालिमको आयोजना गर्ने, सहज विउविजन र मलखादको उपलब्धताका लागि ठाँउ ठाउँमा सुपथ मुल्यको डिपो स्थापना, नारायणी अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्न्ती गर्न पहल गरिने, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविधालयको रुपमा स्तरोन्नती गर्न पहल गरिने पनि मिश्राको चुनावी एजेण्डा रहेका छन् ।