पर्साको पाँचदलीय गठबन्धनमा देखिएन आपसी सदभाव 

पर्साको पाँचदलीय गठबन्धनमा देखिएन आपसी सदभाव 

वीरगन्ज । वीरगन्ज । बैशाख ३० गते हुने निर्वाचनका लागि देशभर गठबन्धन गरेको पाँचदलबीच सदभावको अभाव देखिएको छ । देशभर नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले पाँचदलीय गठबन्धन गरेर निर्वाचनमा जाने भनिएपनि पर्सामा भने पाँचदलीय गठबन्धनमा आपसी सदभाव देखिएन ।

सोमबार मनोनयनका लागि पाँचदलीय गठबन्धनले अलग अलग उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार मनोनयन गर्ने दिनसम्म पनि टिकटको विषयमा टुंगो लगाउन नसकेको पार्टीका नेता कार्यकर्ताहरुबीचको आपसी सदभावका लागि घुलमिल हुन नसक्दा सदभाव नदेखिएको हो ।

वीरगन्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टीको भागमा परेपछि नेपाली कांग्रेस भित्र चरम असन्तुष्टि देखिएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका जिल्ला सभापति र अध्यक्षले यसअघि ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने जिल्ला स्तरीय सहमतिमा उत्साहित देखिएका कांग्रेसका नेता कार्यकर्ताहरु गठबन्धनमा भने त्यति उत्साहित देखिएका छैनन् ।

गठबन्धबाट उम्मेदवारी दिने भएपछि साझा उम्मेदवारको रुपमा रहेका मेयर र उपमेयरका उम्मेदवारहरु मनोनयन दर्ताका लागि पनि अलग अलग समयमा आएका थिए । एकीकृत समाजवादी पार्टीले भने आईतबार नै अधिकांश आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएका थिए ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा माओवादीले सोमबार मनोनयन दर्ता गराएका थिए । तर, पाँचवटै दलले अलग अलग भएर उम्मेदवारी दर्ता गरेका छन् ।