किस्ताबन्दीमा मन्त्रीपरिषद विस्तार गर्दै मधेस सरकार
वीरगन्ज, ११ जेठ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले किस्ताबन्दीमा मन्त्रीपरिषद विस्तार गर्दैछन् । जेठ ९ गते नेपाली कांग्रेसका २ र नेकपा एकीकृत समाजवादीका एकमन्त्री नियुक्त गरेको मधेस प्रदेश सरकारले बिहीबार लोकतान्त्रीक समाजवादी पार्टीबाट एकजना मन्त्री नियुक्त गरेको छ ।
लोसपाका रमेश पटेललाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको छ । यसअघि नेकपा माओवादी केन्द्रको भागमा रहेको उद्योग, पर्यटन तथा वन मन्त्रालय चैत्र १४ गते बसेको मधेस प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले मन्त्रालयको नाम हेरफेर गरेर वन तथा वातावरण मन्त्रालय बनाएको थियो । माओवादीले पाएको उद्योग, पर्यटन, तथा वन मन्त्रलयबाट वनलाई काटेर वन तथा वातावरण मन्त्रालय बनाएको हो ।
सोही मन्त्रालय मुख्यमन्त्री सरोज यादवले लोसपाका रमेश पटेललाई दिएको हो । पटेल पर्साको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । जसपाका सरोज यादवको नेतृत्वमा बनेको मधेस प्रदेश सरकारबाट एमाले बाहिरिएपछि मन्त्रीपरिषद अपूर्ण रहेको थियो । त्यहि अपूर्ण मन्त्रीपरिषदलाई पूर्णता दिन मन्त्रीमण्डल विस्तार गर्ने क्रममा यादवले नेपाली कांग्रेस, एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि दुईवटा मन्त्रालय माग गर्दै आएको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ ।
यद्यपि माओवादीबाट मन्त्री बन्नुभएका सुनिता यादव र रहबर अन्सारीले राजिनामा भने दिनुभएको छैन । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छैन । सत्तागठबन्धन दल जनमतका बषन्त कुश्वाहा र सञ्जय यादवलाई भने कृषि मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाएको छ । सरोज यादव मुख्यमन्त्री बनेपछि तेश्रोपटक मन्त्री परिषद विस्तार गरेको हो । मधेस प्रदेश सरकारमा जसपा र जनमतबीचको अस्तित्वका लडाईले मधेस प्रदेश सरकारमा किचलो देखिएको छ ।