घटना भएको १२ घण्टामै पक्राउ गर्न प्रहरी सफल
वीरगन्ज । बिहीबार राति ९ः२० मा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ मा अचानक गोली पड्किएको आवाज आयो । १२ सखुवाप्रसौनी गाउँपालिका वडा नं.–१ स्थित औराहा गाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा निजको बाँसको टाटीमा माटोले लिपेको बेरा भएको घरको पश्चिमपट्टिको बेरा छिचोलेर गोली घरभित्र रहेको चामलको बोराभित्र पसेको भेटियो ।
घटनासम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा १२ बोरको एक नाले घरेलु बन्दुकबाट पड्किएको गोली थियो । सोही घटनामा संलग्न रहेको एकजनालाई पर्सा प्रहरीले १२ घण्टामै पक्राउ गर्न सफल भयो । सखुवाप्रसौनी गाँउपालिका वडा नं.–१ औराहा बस्ने अन्दाजी वर्ष २७ को सल्टु महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनामा उनको संलग्नता रहेको खुल्न आएकोले उनलाई शुक्रबार बिहान ९ः३० बजे आफ्नो घरमा भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पक्राउ परेका महतोको घर खानतलासी गर्दा घरनजिकै खाली जमिनमा रहेको नालीमा लुकाइछिपाई राखेको १२ बोरको १ नाले घरेलु बन्दुक बरामद भएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । हतियार सहित पक्राउ परेको उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।