प्रहरी समुदाय साझेदारी अन्तर्गत ट्राफिक व्यावस्थापन सचेतना
वीरगन्ज । स्थानीय तह निर्वाचन नजिकिएसँगै वीरगन्जमा हुने ट्राफिक व्यावस्थापनका लागि प्रहरी, समुदाय, साझेदारी अन्तर्गत ट्राफिक व्यावस्थापन सचेतना शुरु भएको छ । वीरगन्जको समुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आज (शुक्रबार) जिल्ला समन्वय समिति पर्साको कार्यालय परिसरमा ट्राफिक व्यावस्थापन तथा सरसफाई गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत रहेको जिल्ला समन्वय समिति पर्साको प्रवेशद्वार अगाडि सवारी साधनहरु पार्किङ्ग व्यवस्थित बनाउनका लागि ट्राफिक सचेतना सहितको सरसफाई र व्यावस्थापन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दाहालले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक दाहालकै नेतृत्वमा सचेतना सहित सरसफाई र ट्राफिक व्यावस्थापन गरिएको हो । कार्यक्रममा प्रहरी नायव निरीक्षक राजेन्द्र गैरे, प्रहरी सहायक निरीक्षक तनुजा श्रेष्ठ, प्रहरी हवल्दार शैलेन्द्र कुमार झा र अमित यादव लगायत सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका पदाधिकारीहरुको सहभागिता रहेको केन्द्रका सचिव कुल नारायण प्रधान (दिलिप) ले जानकारी दिनुभयो ।