‘मानवता प्रवर्द्धनका लागि नेपथ्यको सांगितिक यात्रा’ वीरगन्ज आईपुग्यो
वीरगन्ज, १८ मंसिर । मानव सेवा आश्रमको भवन निर्माणको साथै मावनता प्रवर्द्धनका लागि मानव सेवा आश्रम र नेपथ्य ब्याण्डले शुरु गरेको ‘सांगितिक यात्रा’ वीरगन्ज आईपुगेको छ । मंसिर १९ गते सोमबार वीरगन्जमा हुने संगितिक प्रस्तुतीको लागि नेपथ्य ब्याण्ड वीरगन्ज आईपुगेको हो ।
मंसिर १६ गते विराटनगरबाट शुरु गरिएको ‘मानवना प्रवर्द्धनका लागि सांगितिक यात्रा’ मा सोमबार नेपालको चर्चित व्याण्ड नेपथ्यले वीरगन्जमा प्रस्तुती गर्नेछ । वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म सांगितिक प्रस्तुती रहने मानव सेवा आश्रमले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।
सांगितिक प्रस्तुतीका तयारी तीब्र भईरहेको सांगितिक कार्यक्रमका संयोजक गणेश लाठले बताउनुभयो । विगतमा वीरगन्जमा आयोजना भएका सांगितिक कार्यक्रमहरुमा सधैं तनाव हुने गरेको तितो अनुभवले वीरगन्जले नकारात्मक पहिचान बनाएको भन्दै यसपटकको सांगितिक प्रस्तुतीले ती नकारात्मक पहिचानलाई तोड्ने अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।
विशुद्ध मानवीय सेवाको लागि आयोजना गरिएको सांगितक कार्यक्रमलाई सबैले मानवीय भावना र दायित्वलाई बुझेर कार्यक्रमलाई सफल पार्नेमा आफू विश्वस्त रहेको लाठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विगतमा मनोरञ्जनका लागि आयोजना गरिएका सांगितिक कार्यँक्रमहरुमा तनाव उत्पन्न भएर भागदौड गर्ने स्थितिको सृजना हुने गरेकोले बाहिर नकारात्मक सन्देश गएको छ । वीरगन्जमा खुला कन्सर्ट गर्दा सधैं झगडा हुने लफडा मात्रै हुन्छ भन्ने नकारात्मक सन्देश गएको छ । यसलाई तोड्न र सकारात्मक सन्देश प्रवाह गर्नका लागि पनि यो सांगितिक कार्यक्रम सफल बनाउनुपर्छ ।’
वीरगन्जलाई हेर्ने बाहिरी दृष्टिकोण र भ्रम निवारणका लागि पनि मानवता प्रवर्द्धनको सांगितिक कार्यक्रम सफल बनाउनुको विकल्प नभएको लाठले बताउनुभयो । सहयोग स्वरुप एकहजार दरको टिकटको व्यावस्था गरिएको जानकारी दिदै अहिले सोचे अनुसारको टिकट विक्री नभएपनि कार्यक्रम आयोजना हुने दिनसम्ममा टिकट विक्री बढ्नेमा आशावादी रहेको मानव सेवा आश्रमका संरक्षक प्राध्यापक डाक्टर दीपक शाक्यले बताउनुभयो ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शाक्य, लाठ सहित शिवजी गुप्ता, मिनाक्षी गुप्ता, प्रकाश थारु लगायतको पनि उपस्थिति रहेको थियो ।