पर्सामा यो बर्ष ७५ वटा मानवअधिकार उल्लंघटनका घटना, न्यूनीकरणका लागि साझा प्रतिवद्धता र प्रयास आवश्यक 

पर्सामा यो बर्ष ७५ वटा मानवअधिकार उल्लंघटनका घटना, न्यूनीकरणका लागि साझा प्रतिवद्धता र प्रयास आवश्यक 

वीरगन्ज, ६ पुस । पर्सामा एकबर्षमा ७५ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको समिक्षा गोष्ठिमा सार्वजनिक गरिएको तथ्यांकले मानव अधिकार उल्लंघनका घटनाहरूको संख्या अघिल्लो बर्षको भन्दा पनि कम नभएको पाईएको हो ।

इन्सेकले प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तक २०२२ का लागि पर्सामा संकलन गरिएको मानव अधिकार उल्लंघनका घटनाको पुष्टि र पुनर्पुष्टिका लागि आयोजना गरिएको समीक्षा गोष्ठिमा इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले सार्वजनिक गरेको तथ्यांकअनुसार यो बर्षको समीक्षा अवधिमा पर्सामा विभिन्न ७५ वटा मानवअधिकार उल्लंघनका घटनाहरू भएको जानकारी दिनुभयो । त्यसमध्य १८ बर्षभन्दा कम उमेरका बलात्कारका ३७ वटा घटना भएको छ ।

१८ बर्षभन्दा माथिका बलात्कारका ९ वटा, १८ बर्षमाथिका बलात्कारका प्रयास ५ वटा, बालविवाहका घटना ४ वटा भएको इन्सेक प्रतिनिधि लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी बहुविवाह ४ वटा, हत्याका ५ वटा, मानव बेचविखनका ३ वटा, बोक्सीको आरोप २ वटा, कुटपिटको २ वटा घटना भएको छ । त्यस्तै अप्राकृतिक मैथुन, गर्भपतन, बालयौन दूराचार, र बलात्कारका प्रयासका चारवटा घटना भएका छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मानवअधिकार उल्लंघनका घटना साझा समस्या भएकोले यसको न्यूनीकरणका लागि पनि साझा प्रयास आवश्यक रहेको बताएका छन् । पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले कानूनको अनभिज्ञता क्ष्म्य नहुने भन्दै सबै मानवले कानूनको जानकारी राख्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कानून कार्यान्वयन गर्ने निकायले कार्यान्वयन गर्नै पर्ने भएकोले कानून कार्यान्वयन गर्ने क्रममा राज्यपक्षबाट हुने मानव अधिकार उल्लंघनका घटना नहोस भन्ने विषयमा प्रहरी निकै संवेदनशील भएको बताउनुभयो ।

इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले यसबर्ष खासगरी १८ बर्ष भन्दा कम उमेर समूहमा मानव अधिकार उल्लंघनका घटना भएको पाईएकोले यसले बालबालिकामा अभिभावकत्व भूमिका कम भएको पाईएको बताउनुभयो । यो समाजको लागि अत्यन्त गम्भीर र चिन्ताको विषय रहेको भन्दै उहाँले दाईजोसँग जोडिएर हुने मानव अधिकार उल्लंघटनाका घटनाले समाजमा फैलाईने सचेतनाका कार्यक्रमहरुको प्रभाव कम भएको देखिएको बताउनुभयो ।

जुनसुकै घटना पनि राजनीतिसँग जोडिने भएको हुँदा राजनीतिक तहमा नै यसको न्यूनीकरणको खोजी आवश्यक रहेको वक्ताको भनाई थियो । मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा,

नेपाल पत्रकार महासंघका प्रदेश २ महासचिव श्याम बञ्जरा, पर्सा अध्यक्ष अनुप तिवारी, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मानव अधिकार संगठन पर्साका सचिव शिवनाथ यादव लगायतले मानव अधिकारको विषयमा आ–आफ्ना धारणा राखेका थिए ।