पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को नतिजामा विवाद 

पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को  नतिजामा विवाद 

वीरगन्ज, १० मंसिर । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यको मत परिणामको नतिजामा विवाद देखिएको छ । मतपरिणामको आन्तिम नतिजा घोषणा गर्दा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ता १५१ मतान्तरले विजयी भएको घोषणा भएको थियो ।

प्रतिनिधिसभा सदस्यतर्फ भएको मतदानको मुचुल्कामा उल्लेख गरिएको विवरणमा २७२ मत कम देखिएपछि नेपाली कांग्रेसका उमेदवार सुरेन्द्र प्रसाद चौधरीले पुन मतगणनाको माग राख्दै निर्वाचन आयोगमा उजुरी दिएपछि झिनो मतान्तरबाट विजयी भएका एमालेका उमेदवार राजकुमार गुप्ता तनावमा हुनुहुन्छ । निर्वाचन अधिकृतको कार्यालयले उहाँलाई विजयी भएको प्रमाणपत्र समेत दिएको छैन ।

मुचुल्का र मतपेटीकामा भएको मत परिणाम फरक परेपछि विजयी घोषणा गरिएका एमालेका उमेदवार राजकुमार गुप्तालाई प्रमाणपत्र नदिइएको हो । मतगणना सम्पन्न हुँदा नेकपा एमालेका उमेदवार राजकुमार गुप्ता १५१ मतान्तरले विजयी भएको घोषणा गरिएको थियो । एमालेका गुप्ता २४ हजार २६० ।मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले २४ हजार १०९ मत पाएका थिए ।

झिनो मतान्तरबाट निर्वाचित भएका भनिएका गुप्तालाई २७२ थान मतपत्रको टुंगो नलागे सम्म प्रमाणपत्र नदिने अवस्था देखिएको छ । मंसिर ४ गते आइतबार मतदानका दिन पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो । मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो ।

यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको देखिएको निर्वाचन अधिकृत योगनाथ ढकालले बताउनुभयो । उहाँले केही मतपत्र समानुपातिक तर्फको मतपेटीकामा फेला परेकोले समानुपातिक तर्फको मत गणना सकिएपछि प्रत्यक्ष तर्फको प्रतिनिधिसभा सदस्यको नतिजामा देखिएको विवाद समाधान हुने बताउनुभयो । उहाँका अनुसार प्रत्यक्ष तर्फ मुचुल्कामा उल्लेख गरिएको २७२ को विवाद समानुपातिक मत गणना सकिएपछि मात्रै विवाद समाधान हुने देखिएको छ ।

मतदान अधिकृतले मुचुल्का गरेका प्रत्यक्ष तर्फको केही मतपत्र समानुपातिक तर्फको बाकसमा फेला परेको र केही व्यक्तिहरुले मतपत्र बाकसमा नराखी लिएर गएको पनि हुन सक्ने बताउनु भएको छ । यसले थप आशंका उत्पन्न गरेको छ । मतदान गर्ने क्रममा पहिले संघीय संसदको मतपत्रमा छाप लगाउने र त्यसपछि समानुपातिक मतपत्रमा छाप लगाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै प्रदेशको मतपत्रमा छाप लगाउन पाईन्छ । तर, मत्रपत्र नै लिएर गएको पनि हुनसक्छ भन्ने निर्वाचन अधिकृतको व्यक्त आशंकाले अझ विवाद लम्बिन सक्ने सम्भावना देखिन्छ ।

निर्वाचन अधिकृत ढकालका अनुसार प्रत्यक्ष तर्फ मतदान केन्द्रबाट उठाइएको मुचुल्काको भन्दा गणनाका क्रममा कूल सदर मत र कूल बदर मत भन्दा २७२ मत कम भएको देखिन्छ । गणनाका क्रममा मतपेटिकाबाट निकालेर गनिएको कूल मत ६४ हजार १७६ छ भने त्यसमा सदर मत ६१ हजार ५ सय ४५ र बदर मत २ हजार ६३१ छ । कूल सदर र बदर मतको योगफल जोड्दा आउने संख्या, मतदान केन्द्रहरुबाट उठाइएको मुचुल्का अनुसारको मतसंख्या ६४ हजार ४४८ भन्दा २७२ ले कम देखिएको निर्वाचन अधिकृत ढकालको भनाई छ ।

समानुपातिकको मतगणनाका क्रममा समानुपातिकको मतपेटिकाबाट भेटिएका प्रत्यक्ष तर्फका मतपत्र गणना भएपछि मात्र निर्वाचनको मतपरिणाम सार्वजनिक गरिने ढकाले बताउनुभयो । उहाँले समानुपातिक तर्फको बाकसमा फेलापरेका प्रत्यक्ष तर्फको मत प्रत्यक्ष तर्फ गणना गरि आएको परिणामलाई आधिकारिक रुपमा सार्वजनिक गरिने जानकारी दिनुभयो । पराजित भनिएका काँग्रेसका उम्मेदवार चौधरीले भने मतगणनाकै क्रममा गडबड गरिएको आरोप लगाउनु भएको छ ।

पुनःमतगणनाका लागि आफुले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पनि दिइसकेको चौधरीले बताउनुभयो । नेकपा एमालेका उमेदवार राजकुमार गुप्ताले निर्वाचित घोषणा गरेर जितेको प्रतिनिधिलाई प्रमाणपत्र नदिनुले सत्ताको दुरुपोग गरि हराउन खोजेको हुन सक्ने आरोप लगाउनु भएको छ । उहाँले समानुपातिकको बाकसमा फेलापरेका प्रत्यक्ष तर्फका मतपत्रलाई आफूले स्वीकार नगर्ने बताउनुभयो ।