वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाको गठबन्धन  

वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाको गठबन्धन  

वीरगन्ज । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले वीरगन्ज महानगरपालिका मिलेर निर्वाचनमा जाने भएको छ । वीरगन्जको होटल भिस्वामा आज पत्रकार सम्मेलन गरेर वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा जाने सहमति भएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा‘ वीरगन्ज महानगरपालिकाको विकास र प्रगतिको लागि नगारिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र, र संघीयता प्रति प्रीतवद्ध रहेको दल नेकपा एमाले र लोकतान्त्री समाजवादी पार्टी नेपाल, महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुन सहमत भएका छौं” भनेर उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव रघुविर महासेठले अहिलेको गठबन्धनको सरकारबाट गणतन्त्र खतरा रहेको आरोप लगाउनुभयो । गणतन्त्र, लोकतन्त्र मास्नेको विरोधमा र वीरगन्जको विकासको लागि नेकपा एमाले र लोसपाबीच सहमति भएको बताउनुभयो । एक्लै एक्लै चुनाव लड्ने विश्वास नभएर नै अहिले गठबन्धन बनाएको बताउनु भयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनमा स्थानीय पार्टी कमिटिलाई नै तालमेल गर्ने केन्द्रीय कमिटिको बैठकमा निर्णय भए अनुसार वीरगन्ज महानगरपालिकामा नेकपा एमालेसँग निर्वाचनमा मिलेर जाने सहमति गरेको बताउनुभयो । उहाँले आवश्यकता अनुसार अन्य स्थानीय तहहरुमा पनि मिलेर निर्वाचनमा जाने तयारी लोसपाको रहेको बताउनुभयो ।

नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सचिव रघुविर महासेठ, पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा, संविधानसभा सदस्य विचारी यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै लोसपाको तर्फबाट प्रतिनिसभा सदस्य लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, प्रदेशसभा सदस्य प्रल्हाद गिरी, रमेश पटेल, पर्सा अध्यक्ष पुरुषोत्तलाल झा लगायतको उपस्थिति रहेको थियो । 
यसैबीच लोकतान्त्री समाजवादी पार्टी वीरगन्ज महानगर कमिटिले भने एमालेसँग गबन्धन नहुने जनाएको छ । लोसपा महानगर अध्यक्ष ओमप्रकाश सर्राफले पार्टीको केन्द्रले वीरगन्ज महानगरपालिकामा कुनै किसिमको गठबन्धन हुने जानकारी दिएकोले गठबन्धन हुन नसक्ने बताउनु भएको छ । उहाँले यदि गठबन्धन गरेमा त्यसको सशक्त विरोध गर्ने पनि बताउनुभयो ।