जनतालाई भ्रममा पार्नेदेखि सर्तक रहन यादवको आग्रह
वीरगन्ज, १३ कार्तिक ।
वीरगञ्ज, १२ कार्तिक । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले भ्रममा पार्नेहरुसँग सतर्क रहन आग्रह गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहनुभएका यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का मतदातासँग भेटघाट गर्दै भ्रममा नपर्न मतदातालाई आग्रह गर्नुभयो ।
निर्वाचन नजिकिदै गएसँगै उनले नेता तथा कार्यकर्ताहरुलाई पनि जसपा र एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सक्रिय हुन सचेत गराउनु भएको छ । जनतालाई भ्रममा पारेर दिवा सपना देखाउनेहरुबाट सर्तक रहन आग्रह गर्दै उनले ईमान्दार एवम् जनताको पिरमर्का बुझ्ने व्यक्तिलाई चुनेर पठाउनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचित गराइसकेपछि पश्चाताप हुनुपर्ने अवस्था नआउनका लागि बेलैमा सोचेर अमूल्य मत सही व्यक्तिलाई दिई विकास र परिवर्तनको अभियानमा हातेमालो गर्नुपर्ने बताउनुभयो । मतदातासँगको भेटघाटका क्रममा निवर्तमान सांसद यादवसहित मधेश प्रदेशका मुख्यमन्त्री एवम् पर्सा क्षेत्र नम्बर १ (१) का प्रदेश सभा सदस्य उम्मेदवार मोहमद लालबाबु राउत गद्दी, नेकपा एमालेका नेता नवराज शर्मा, पूर्व वडा अध्यक्ष वसन्त भक्कडलगायत नेकपा एमाले र जसपाका नेता एवम् कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।