पर्सा क्षेत्र नम्बर १ प्रदेशसभा (२) को स्वतन्त्र उम्मेदवार सर्राफको घरदैलो निरन्तर
वीरगन्ज, ११ कार्तिक । पर्सा क्षेत्र नम्बर १ को (२) तर्फको प्रदेशसभा सदस्य उम्मेदवार ओम प्रकाश सर्राफले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ को विभिन्न टोलमा मतदाताहरुसँग भेटघाट गर्नुभएको छ । बिहिबार राति वडा नम्बर १६ को मिथिलानगर, डबरी टोल र वडा नम्बर ७ को रामटोलमा चुनावी छलफल तथा भेला पनि सम्पन्न भएको छ ।
भेलामा निर्वाचन क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य स्वतन्त्र उम्मेदवार सर्राफले आफ्नो अमूल्य मत पैसामा विक्री नगर्न आग्रह गर्नुभयो । विगतका दिनमा चुनाव जितेर गएका नेताहरुले व्यापक भ्रष्ट्रचार गरेको आरोप लगाउदै त्यही पैसाले पुनः मत खरीद गर्न मतदाताहरुकोबीचमा आएकाले त्यस्ता भ्रष्ट्रचारीलाई आफ्नो अमूल्य भोट नबेच्न जनतालाई आग्रह गर्नुभयो ।
आर्थिक समाजिक रुपान्तरणको लागि मतदाताको मत अमूल्य रहेकाले यसलाई भ्रष्ट्रचारीको पक्षमा गयो भने, पुनः देशमा भ्रष्ट्रचार निम्त्याउने र विकास गर्न नसक्ने जिकिर गर्नुभयो । भ्रष्ट्रचारमा मुछिएका मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी माथि कटाक्ष गर्दै उम्मेदवार सर्राफले भ्रष्ट्रचारीलाई पैसाको प्रलोभनमा आफनो मत बेच्यो भने अधिकार समेत नपाउने बताउनुभयो ।
अहिले सरकारी स्कुलको शिक्षामा सुधारको आवश्यकता रहेको, सरकारी अस्पतालमा सुविधा नहुँदा गरिब जनता उपचार गराउँनबाट बन्चित भईरहेकाले शिक्षा र अस्पतालको विषयमा निरन्तर आवाज उठाउदै आएकोले पनि आफूलाई मत दिन मतदाताहरुसँग आग्रह गर्नुभयो ।
अहिले आर्थिक अभावमा केहि दुर्व्यसनीमा परेको युवाहरु अलपत्रमा परेकोले त्यस्ता दुर्व्यसनीमा परेका युवालाई सुधार केन्द्रमा आफनै खर्चबाट उपचार गराउँने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । पूर्ण रुपमा निको भईसकेका युवाहरुलाई रोजगार र सीपको व्यवस्था मिलाउँने आश्वासन पनि दिनुभयो । चुनावी सभामा सहभागी स्थानीहरुले उम्मेदवार सर्राफलाई सहयोग गर्ने बताएका थिए ।