समाजलाई जोड्ने सेतु बन्यो सामूहिक भाईटिका
वीरगञ्ज, १० कार्तिक । बिहीबार देशभर दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर यसबर्षको तिहार सम्पन्न भएको छ । वीरगन्जमा भने फरक किसिमले भाईटिका मनाईएको छ । वीरगन्जको पूरानो बसपार्कमा पहाडी समुदाय, भोजपुरी समुदाय, मैथीली समुदाय र थारु समुदायले आ–आफ्नो संस्कार र परम्परा अनुसार भाईटिका लगाएर सामूहिक भाईटिका मनाईएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश र न्यूज २४ टेलिभिजनले आयोजना गरेको सामूहिक भाईटिकमा ८५ बर्षीय वृद्धदेखि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सशस्त्र प्रहरी बल, नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबास महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगर, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, वीरगन्ज महानगरपालिकाका पूर्व नगर प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत उद्योगी व्यावसायी, चिकित्सक, प्राध्यापक, सञ्चारकर्मी र सर्वसाधारणले समेत सामूहिक रुपमा फरक फरक समुदायका महिला दिदीबहिनीहरुको हातबाट टिका लगाए ।
सामूहिक भाईटिका फरक फरक समाजलाई जोड्ने सेतू बनेको सहभागीहरुले बताए । सामूहिक भाईटिका कार्यक्रममा सहभागीहरुले आफूलाई लगाउन मन लागेको समुदायका दिदीबहिनीहरुको हातबाट टिका लगाएर शुभकामना आदानप्रदान गरेका थिए । सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगरले भोजपुरी समुदायका दिदीबहिनीहरुसँग टिका लगाउनुभयो ।
भोजपुरी क्षेत्रमा आएर कार्यक्रममा सहभागी भएकोले आफूले भोजपुरी समुदायका दिदीबहिनीहरुको हातबाट टिका लगाएको बताउनुभयो । उहाँले फरक फरक समाजका संस्कार संस्कृति एकअर्काले जान्न पाएको र परम्परा संस्कृतिहरु कसरी मनाउछने भन्ने कुरा सामूहिक भाईटिकाले बहुसांस्कृतिक समाजको अध्ययनको विषय पनि बनेको बताउनुभयो ।
सामूहिक भाईटिकाले समाजको बहुआयामिक संस्कार र संस्कृतिको विकास र सम्वद्र्धन हुनेमा विश्वास व्यक्त गर्नुभयो । ८५ बर्षीय वृद्ध मूरलीधर रुंगटाले पनि भोजपूरी समुदायका चेलीहरुको हातबाट टिका लगाउनुभयो । उहाँले आफ्नो उमेरको उत्तराद्र्धमा पहिलो पटक यस्तो सामूहिक भाईटिका फरक फरक समूदायका दिदीबहिनीहरुको हातबाट लगाउन पाएको बताउनुभयो ।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको सुन्दर गहना नै बहुजाती, बहुसांस्कृतिक समाज रहेकोले सामूहिक भाईटिकाले समाजमा सहिष्णुता कायम गर्न र एक अर्काको संस्कार संकृतिकलाई नजिकबाट जान्ने अवसर पनि भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले समुदायका फरक फरक संस्कार अनुसार भाईटिका लगाउन नौलोपन पनि हुने र यसले समाजलाई पनि जोड्न प्रयास गरेको बताउनुभयो । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षामा खटिएका कारण घर परिवारमा गएर दिदीबहिनीहरुको हातबाट टिका लगाउन नपाएपनि सामूहिक भाईटिकामा आएर भाईटिका लगाउन पाउँदा घर भन्दा पनि धेरै रमाईलो महशुस भएको बताएका थिए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेल, वीरगन्जका उद्योगी व्यावसायी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।