मधेसी समुदायका आदर्श जोडी : जसले विना दाईजो विवाह गरे
वीरञ्ज, १० फागुन । कानूनले दाईजो प्रथालाई अपराध मानेको छ । समाजले संस्कारको रुपमा मान्दै आएको दाईजोले प्रथाको रुप धारण गरेपछि विकृति बढेको छ । समाजमा चलेको दाईजोको चलनले गरिब विपन्न परिवारका छोरीहरुको सामाजिक परम्परा अनुसार विवाह गर्नपनि समस्या हुने गरेको छ । विशेष गरी मधेसी समुदायमा दाईजोको चलन बाध्यता जस्तै बनेको छ ।
दाईजो विना विवाह गर्नेलाई घर परिवारले पनि नस्वीकार्ने तथा सामाजमा पनि गलत दृष्किोणले हेर्ने गरेकै कारण दाईजो बाध्यात्मक परिस्थिति बन्ने गरेको छ । कतिपय दाईजो विरोधी अभियानमा लाग्ने अभियन्ताहरु नै सामाजको बहिष्करणमा पर्ने डर र भयले दाईजोको विरोधी हुँदाहुँदै पनि छोराछोरीको विवाहमा दाईजो लिनेदिने काममा संलग्न हुनुपर्ने बाध्यता छ ।
समाजमा कतिपयको दाईजो दिन नसकेकै कारणले पनि विवाहहरु रोकिने घटनाहरु हुने गरेका छन् । दाईजोकै निहुँमा कति मधेसी समुदायका छोरीचेलीहरुले अकालमा ज्यान गुमाउनु परेको घटनाहरुपनि भएका छन् । तर, समाज भने अझै संस्कार र प्रथाको रुपमा मान्यता दिदै यसलाई प्रचलनमा ल्याइरहेका छन् ।
कानूनले पनि दाईजो लिने र दिने अपराध नै मानेको र समाजको चेतनास्तरमा पनि आएको परिवर्तनले पछिल्लो समयमा भने कतै कतै समाजलाई चुनौती दिने खालको आदर्श विवाहहरु पनि हुने गरेको छ । एकजोडीले यस्तै विवाह गरेर समाजका लागि आदर्श जोडी बनेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ स्थायी गर भई वीरगंज महानगरपालिका वडा नं. २४ रानीघाट स्थित सीता आयुर्वेदिक सेन्टर प्रा.लि. वीरगंजका प्रबन्ध निर्देशक एवं समाजसेवी सत्रुध्न प्रसाद चौरसियाका छोरा हरेराम चौरसिया र वीरगंज महानगरपालिका वडा नं. ४ लक्ष्मीनगर टोल बस्ने यादवलाल चौरसियाकी छोरी दिव्या चौरसियाले दाईजो बिना नै विवाह गरेका छन् ।
उनीहरु दुवैजना फागुन ६ गते हिन्दु परम्परा अनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन् । दाईजो बिना नै विवाह गरेका जोडीको निर्णयले मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न सकिने विश्वास गरिएको छ । तराई मधेशमा विपन्न देखि सम्पन्न परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेको चलन परम्परा नै बन्ने हो कि भन्ने समाजमा चिन्ता छाएको छ ।
चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको दिव्या चौरसिया बुवा यादवलाल चौरसियाले बताउनुभयो । छोरीलाई दाई नदिईकन विवाह गर्न पाउँदा आर्थिक भार पनि नपरेको र यसले समाजलाई सकारात्मक सन्देश दिएको दिव्याका बुवा यादवलालले बताउनुभयो । यसअघि पनि यस्ता आदर्श विवाहरु हुदै आएका छन् । तर, परम्परागत सोच भएका समाजमा भने यस्तो विवाहको स्वीकार्यता सहज भएको छैन ।