तिहारको अन्तिम दिन आज ‘भाईटिका’ को शुभ साईत ११ः३७ मा 

तिहारको अन्तिम दिन आज ‘भाईटिका’ को शुभ साईत ११ः३७ मा 

वीरगन्ज, १० कार्तिक । यम पञ्चकको आज अन्तिम दिन अर्थात तिहारको मुख्य दिन भाईटिका, दाजुभाईले दिदीबहिनीको हातबाट टिका लगाएर मनाईदै छ । भाइटीकाको शुभ साइत बिहान ११ : ३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका आज दिनभर लगाउन कुनै बाधा भने नहुने समितिले जनाएको छ ।

भाइटिका चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वासमा आधारित रहेको छ । प्रचलित जनउक्ति अनुसार एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुगेको हुन्छ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसकेको र उनको मृत्यु निश्चित भएको हुन्छ । ती चेलीले दाजुलाई टिका टालो नसकुन्जेलसम्म पर्खिन यमदूतलाई आग्रह गर्छिन र टिकोटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर पूजा गरिदिन्छि ।

यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदूतले प्रशन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले आफ्ना दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको किंवदन्ती रहेको छ । त्यसपछि यमराजले पनि आफ्नो बहिनीसँग यम पञ्चकको पाँचौँ दिन टिका लाउँदा बहिनीले वरदान स्वरुप हरेक वर्ष दाजुलाई यसैगरी टिका लगाउन र पुज्न पाऊँ भन्ने बरदान  मागेकाले भाइटिकाको चलन चलिआएको पाईन्छ ।

दिदी–बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटिकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउने गर्छन् । टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्नका लागि भूँईमा चकटी ओछ्याएर बसाउने र वरिपरि कलशमा तेल–पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिशेष गर्दै पूजा गर्दछन् ।

यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।

शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टी लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टिका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।

आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटिकामा जाने चलन पनि छ ।