आफूले गरेको काम नै जितको आधार रहेको प्रदीप यादवको दावी
वीरगन्ज, १५ कार्तिक ।
वीरगञ्ज, १० कार्तिक । एमाले जसपा गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले आफूले यसअघि गरेको काम नै आफ्नो जितको आधार रहेको दावी गर्नुभएको छ । यादवले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का विभिन्न टोलमा चुनावी घरदैलो गरि मतदातालाई भेटेर यस्तो बताउनुभएको हो ।
छठ पूजा सकिए लगत्तै चुनावी प्रचार प्रसारमा निस्किनुभएका पूर्व मन्त्री यादवले मंगलबार बिहान नेता कार्यकर्ता सहित वडा नम्बर १५ मा पुगेर मतदातालाई भेट्दै उनीहरुको समस्या र गुनासोहरु सुन्नुभएको थियो । भेटघाटका क्रममा उहाँले मंसिर ४ गते सही नेता चुन्ने अवसर पनि भएकाले काम गर्ने नेतालाई नै जनताले अवसर दिनु पर्ने बताउनुभयो ।
जसपाका उम्मेदवार यादवले आफू नेता नभइ जनताको सेवक भएकाले जनताको सेवा नै आफनो मूलमन्त्र रहेको बताउनुभयो । उहाँले विगत पाँच वर्षको कार्याकालमा पर्सा क्षेत्र नम्बर १ मा आफुले गरेका कामको मूल्यांकन गरेकै कारण जनताले आफूलाई फेरि अवसर दिनेमा आफु ढुक्क रहेको बताउनुभयो ।
अरुलाई गाली गरेर मात्रै जनताको मन जित्न नसकिने बताउदै यादवले विपक्षीलाई गाली गरेर समय खेर नफाली आफूले गरेका काम जनताले देखेकोले त्यहि आफ्नो जितको आधार भएको बताउनुभयो । घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीका साथै जसपाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।