वीरगन्जमा गठबन्धनका उम्मेदवारलाई जिताउने गठबन्धनको निर्णय
वीरगन्ज । गठबन्धनको उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन दलहरुबीच वीरगञ्जमा बुधवार छलफल भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिँह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउने निर्णय सहित विभिन्न उपसमिति गठन गरेको छ ।
बैठकले वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसका नेता श्याम कुमार पोखरेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन उपसमिति गठन गरेको छ ।
समितिको सदस्यहरुमा नेपाली कांग्रेसका नेता प्रकाश कुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका सुरेन्द्र गुप्ता, जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका युवा नेता मुकेश द्विवेदी र नेकपा एकिकृत समाजवादी पार्टीबाट वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरी रहेका छन् ।
यस्तै पर्साका १३ स्थानीय तहमा गठबन्धनको अवस्था अध्ययन र विश्लेषणका लागि नेपाली कांग्रेस पर्साका नेता रामनारायण कुर्मीको संयोजकत्वमा जिल्ला स्तरीय उपसमिति गठन गरेको छ ।
यस समितिको सदस्यमा नेपाली कांग्रेसबाट अशोक गुप्ता, जसपाबाट तबरेज अहमद, जनार्दन यादव, ललन द्विवेदी, नेकपा माओवादी केन्द्रबाट शेखचाँद तारा र छोटेलाल यादव र नेकपा एकिकृत समाजवादी पार्टीबाट गंगा बहादुर खड्का रहेका छन् ।
बैठकमा सत्ता गठबन्धनका उम्मेदवारहरु सबैलाई जिताएर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा नेकपा माओवादी केन्द्र पर्साका अध्यक्ष रामदरश कुश्वाह, जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव,
नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एसका नेता चिरञ्जीवी आचार्य लगायतको उपस्थिती रहेको जसपा निर्वाचन प्रचार प्रसार समितिका संयोजक एवम् जिल्ला सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।